• गृहपृष्ठ
  • युएईको नेपाली दुतावासले गल्ती लुकाउन स्थानीय कर्मचारी निस्काशन गरी सुटुक्क नेपाल पठायो

युएईको नेपाली दुतावासले गल्ती लुकाउन स्थानीय कर्मचारी निस्काशन गरी सुटुक्क नेपाल पठायो

Mar 17th, 2020

काठमाण्डौँ ,४ चैत

युएईमा रहेको नेपाली दुतावासले आफ्नो गल्ती लुकाउन स्थानीय कर्मचारीलाई जवरजस्ती निस्कासन गरि नेपाल पठाएको छ । राजदुत कृष्णप्रसाद ढकालको ठाडो निर्देशनमा दुतावासका कार्यलय सहयोगी पुस्कल लामालाई कामबाट हटाएर नेपाल पठाइएको हो ।

सुरुमा अर्को काम नपाउदासम्म दुतावासकै सेल्टरमा राखिएका लामालाई राजदुत ढकालले पिआरओ मार्फत भिसा रद्ध गर्न निर्देशन दिएका थिए। एक वर्षको करार अवधी बाँकी छदै उनलाई कामबाट निकालिएको थियो ।

लामाको बारेमा पटक पटक उजुरी परेको जनाएर दुतावासले उनलाई जिम्मेवारीबाट हटाएको तर्क पेश गदै आएको छ । तर पटक पटक गरिने उजुरीमा सत्यता नभएको र अन्य कर्मचारी उपर उजुरी पर्दा राजदुतले नै सरक्षण गर्ने गरेको दुतावासकै कर्मचारीको गुनासो छ ।

नाम नबताउने शर्तमा एक कर्मचारीले भने, राजदुत आफै आफ्ना मान्छे नियुक्ति गर्न काम गरिरहेका कर्मचारी माथी सुनियोजित रुपमा कामबाट हटाउन लागि परेका छन् ।”

फागुन २० गतेदेखि कामबाट निकालिएका लामालाई अर्को काम नपाउदासम्म दुतावासकै सेल्टरमा बस्न दिइएको थियो । राजदुत ढकालले सक्दो छिटो उनी र उनको परिवारको भिसा रद्ध गरि नेपाल फर्काउन निर्देशन दिएका थिए । श्रीमतिसहित युएईमा बस्दै आएका लामा आइतबार नेपाल फर्किएका हुन् ।

मागपत्र प्रमाणिकरणमा भएको अर्को चलखेल

दुतावास भित्रका विभिन्न विषय बाहिर आएपछि अनुसन्धान थालिएको थियो। राष्ट्रिय सतर्कता केन्द्रमा निरन्जन पराजुलीले गरेको उजुरीकै आधारमा गरिएको फ्लोअपबाट थप रहस्य खुलेको छ ।
दुतावासमा प्रमाणिकरणका लागि आउने कामदार मागपत्रलाई नाताले राजदुतकी बैनी ज्वाई पर्नेले संचालन गरेको ब्रोर्ड वे ओभरसिसमा सेटिङ्ग मिलाईदिने गरेको दुतावास श्रोतको दावी छ । श्रमसहचारी मोतीराम भुषाल र राजदुत ढकालको मिलेमतोमा उनीहरुले ल्याएका मागपत्र सजिलै प्रमाणित हुने गरेका छन् ।

यस्तै पराराष्ट्र मन्त्रालयको सचिवालयमा काम गर्ने बताउने सेरोन म्यानपावरका संचालक समेत रहेका शम्भु गौतम मार्फत आउने मागपत्र प्रमाणिकरणमा समेत दुतावासमा चलखेल हुने गरेको छ ।

दुतावासका तृतीय सचिव नारायण ज्ञवालीसँग नाता रहेका गौतमले व्यक्तिगत सम्बन्धको फाइदा उठाउने गरेका छन्। गौतम युएई आउदा परराष्ट्र अन्तरगतका दुतावासका कर्मचारी ज्ञवालीको निवासमा बस्ने गरेका छन् ।

उनले दुतावास अघि रहेको एभरेष्ट ट्राभलसँग मिलेर आफ्नै एजेण्ट मार्फत आफ्नो म्यानपावरमा आउने मागपत्र प्रमाणिकरण गराउने गरेको श्रोतले जनाएको छ ।
म्यानपावर व्यवसायी गौतमले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको चुनाव खर्च उठाउने भन्दै दुतावाससँग मिलेर कामगरिरहेको सार्वजनिक रुपमा बताउने गरेका छन् ।

तर दुतावासभित्र भइरहेका यस्ता किसिमका गतिविधीबारे दुतावास मौन रहदै आएको छ । दुतावास प्रवेशमा सेवाग्राहीलाई कडाइ गरिदै आएको छ ।

दुतावासभित्र हुने चलखेलको प्रमाण सार्वजनिक हुने डरले सेवाग्राहीका मोवाइल लगायतका सामाग्री प्रवेशमा रोक लगाइएको छ । तर पहुँच भएका व्यक्तिका लागि भने सिधै माथिल्लो कर्मचारीबाट फोन गरेरे कुनै रोकतोक नगर्न भन्ने गरिन्छ ।