विद्यार्थीले गरे रु डेढ लाख सहयोग

Mar 16th, 2020

चिप्लेढुङ्गा, ३ चैत (रासस)

पोखरा महानगरपालिका–७ मासबारमा रहेको मदरल्याण्ड माविका विद्यार्थीले अपाङ्गता भएका युवक कृष्ण थापालाई आर्थिक सहयोग गरेका छन् । केहीदिन अघि पोखराका सञ्चारकर्मी संजोग बस्यालले निर्देशन तथा निर्माण गरेको डकुमेन्ट्री ‘कृष्ण, अ स्टोरी अफ सेल्फ डिपेन्डेन्स डकुमेन्ट्री’ हेरेपछि विद्यार्थीले सहयोग रकम उठाएर हस्तान्तरण गरेका हुन् । उक्त डकुमेन्ट्रीका नायक कृष्ण अपाङ्गता भएका व्यक्ति हुन् उनी बोल्न सक्दैनन् कृष्णले हरेक दिन बिहान पत्रिका बेचेर आफ्नो पौरखमा रमाएको प्रेरणादायी कथा उक्त डकुमेन्ट्रीमा उतारिएको छ ।

विद्यालयमा उक्त डकुमेन्ट्री हेरेपछि विद्यार्थीहरु सहयोगका लागि अग्रसर भएका हुन् । सहयोगमा विद्यालयलाई शिक्षकले पनि साथ दिएका थिए । आज विद्यालयमा एक कार्यक्रम गरेर विद्यालय र विद्यार्थीले कृष्ण थापालाई रु एक लाख ६२ हजार २७ सहयोग गरेका हुन् । विद्यालयका प्रिन्सिपल नारायण बरालले अपाङ्गता भएका कृष्ण थापालाई उत्प्रेरणा दिन विद्यालयले सहयोग गरेको बताउनुभयो ।