• गृहपृष्ठ
  • छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चार जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चार जनाको मृत्यु

Mar 13th, 2020

काठमाडौं, ३० फागुन

कैलाली, बाँके र धादिङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।
कैलाली, लम्कीचुहा नगरपालिका-६ स्थित सडकमा से.४ प ५९४८ नम्बरको मोटरसाइकलले शनिबार ठक्कर दिँदा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने राम बहादुर भुलको ७ वर्षीय छोरा सूर्य भुलको भारतको लखनउमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको छ । ठक्कर दिने मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३८ वर्षीय चक्र बहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँके, कोहलपुर नगरपालिका-११ स्थित सडकमा भे.१ ख २१२९ नम्बरको बसले भे.१ ह १६५३ नम्बरको अटोलाई बिहीबार बिहान ठक्कर दिँदा अटो चालक बैजनाथ गाउँपालिका-२ मकैबारी बस्ने ४० वर्षीय जय बहादुर रोकाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका रोकाको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य १३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धादिङ, धुनीबेसी नगरपालिका-९ कानाकोट ढुङ्गेधारास्थित सडकमा बुधबार राति बा.८५ प १४२ नम्बरको मोटरसाइकल सडकबाट करिब २५ फिट तल खसेर दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ५५ वर्षीय राम प्रसाद पाण्डेको घटनास्थलमै मृत्यु भएको छ ।

यसैगरी धादिङ, थाक्रे गाउँपालिका-६ नौकिलास्थित सडकमा ना.५ त १९३३ नम्बरको ट्याक्टरले बिहीबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका प्रदेश नम्बर ३-०२-००३ प ०६९१ नम्बरको मोटरसाइकल चालक ललितपुर बस्ने १८ वर्षीय सनि साहको वीर अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।