• गृहपृष्ठ
  • गाउँ फर्क अभियान चलाएर जिल्लामै पहिलोपटक व्यावसायिक कालिजपालन व्यवसाय

गाउँ फर्क अभियान चलाएर जिल्लामै पहिलोपटक व्यावसायिक कालिजपालन व्यवसाय

Mar 12th, 2020

मेलम्ची, २९ फागुन (रासस)

युवा कामको खोजीमा शहर पस्ने र विदेश जाने क्रम बढेपछि प्रायः गाउँघरमा उमेर ढल्किएका मात्रै भेटिन्छन् तर सिन्धुपाल्चोक थुम्पाखरका युवाले भने गाउँ फर्क अभियान चलाएर जिल्लामै पहिलोपटक व्यावसायिक कालिजपालनमा लागेका छन् ।

विभिन्न कामको सिलसिलामा शहर पसेका सुनकोशी गाउँपालिका–६ थुम्पाखरका युवा अहिले आफ्नै थलोमा फर्कन थालेका छन् । शहर केन्द्रित हुँदा गाउँघर शून्य हुँदै गएको भन्दै युवाले गाउँमै बस्ने उद्देश्य लिएर कालिजपालनको नयाँ व्यवसायमा जुटेको बताएका छन् । युवा व्यवसायी मिलेर जिल्लामै पहिलोपटक कालिजपालन गर्न थालेका छन् । भगवती वाइल्ड एन्ड क्याटल प्रोडक्ट प्रालिमार्फत कालिजपालन शुरु गरेका युवाले यो व्यवसायका लागि रु १३ लाखभन्दा बढी लगानी गरेका छन् ।

कालिजपालनका लागि खासै प्राविधिक ज्ञानको आवश्यक नपर्नाका साथै थोरै समयमै फाइदा लिन सकिने भएकाले कालिजको व्यावसायिकपालनमा लागेको प्रालिका अध्यक्ष रामचन्द्र कार्कीले बताउनुभयो । प्रतिगोटा रु तीन हजारसम्म बिक्री हुने कालिजको मासु स्वादिलो हुने भएकाले यसको माग बढ्दै गएको छ । व्यवसाय शुरु गर्दा लगानी बढी परेजस्तो लागे पनि बिक्री हुन थालेपछि दुई वर्षभन्दा कम समयमै लगानी उठ्ने र त्यसपछि व्यवसायमा नाफा हुन थाल्ने समूहका अर्का सदस्य मधुसूदन कार्कीको विश्वास छ ।

राजधानी र अन्य स्थानमा बसोबास गर्दै आएका युवाले यसरी गाउँमै बाँझो रहेको जग्गाको उपयोग गरी कृषितर्फ फर्कंदा सरकारले पनि उनीहरुको समस्याको समाधानका लागि उपचार र बीमामा विशेष व्यवस्था गरिदिने हो भने अन्य युवालाई पनि यसतर्फ आकर्षित गर्न सकिने उनीहरुको भनाइ छ ।