च्याम्पियन्स लिगबाट बाहिरियो लिभरपुल

Mar 12th, 2020

काठमाडौँ, २९ फागुन

लिभरपुल च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाट बाहिरिएको छ । बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा एथ्लेटिको मड्रिडसँग समग्रमा ४-२ ले पराजित भएपछि लिभरपुल अन्तिम-१६ बाट बाहिरिएको हो।

यस अघि एट्लेटिकोले प्री–क्वाटरफाइनलको पहिलो लेगमा घरेलु मैदानमा १–० को जित हात पारेको थियो।

खेलमा पहिलो अग्रता भने लिभरपुलले लिएको थियो । खेलको ४३ औं मिनेटमा जर्जियानो विज्नाल्डमले गोल गर्दै लिभरपुललाई शुरुवाती  अग्रता दिलाएका थिए ।

त्यसपछि निर्धारित समयमा थप गोल नभएपछि खेल अतिरिक्त समयमा पुगको थियो । रोबोर्टो फिर्मिनोले अतिरिक्त समयको चौथो मिनेटमा गोल गर्दै लिभरपुललाई २-० को अग्रता दिलाए।
त्यसपछि एथ्लेटिको मड्रिडका मार्कस लोरेन्टेले ९७ औं र १०५ औं मिनेटमा लगातार दुई गोल गरे र खेल बराबरीमा पुर्‍याए  ।

यस्तै १२० औं मिनेटमा अल्भारो मोराटाले गोल गरेपछि एथ्लेटिको मड्रिड समग्रमा ४-२ ले विजयी हुँदै क्वाटरफाइनलमा पुगेको हो ।

जितसँगै एट्लेटिको मड्रिडले च्याम्पियन्स लिगको अन्तिम आठमा स्थान बनाएको छ ।