• गृहपृष्ठ
  • कृषिसम्बन्धी बजेटमा समन्वय गर्दै सङ्घ र प्रदेश सरकार

कृषिसम्बन्धी बजेटमा समन्वय गर्दै सङ्घ र प्रदेश सरकार

Mar 8th, 2020

काठमाडौँ, २५ फागुन (रासस)

कृषि तथा पशुपक्षी मन्त्रालयले आगामी आर्थिक वर्षका लागि कषिसम्बन्धी बजेट तर्जुमाका लागि प्रदेश सरकारका सम्बन्धित मन्त्रालयसँग पूर्व बजेट समन्वय बैठक आयोजना गरेको छ ।

मन्त्रालयले सातै प्रदेश सरकारसँग एकीकृत योजना तर्जुमा गरी नीति तथा कार्यक्रम र बजेट बनाउन पहिलो पटक यस प्रकारको बैठक आयोजना गरेको हो । सङ्घीय र प्रदेश सरकारले बनाउने योजनाबीच समन्वय नहुँदा समस्या आएकाले अबदेखि एकीकृत समन्वय गरेर योजना तय गर्न लागिएको मन्त्रालयका उपसचिव गङ्गादत्त आचार्यले बताउनुभयो । उहाँका अनुसार नीति तथा कार्यक्रममा एकरुपता ल्याउन आइतबारदेखि प्रि–बजेट समन्वय बैठक राखिएको छ ।

बैठकमा सातै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री र सचिवलाई बोलाइएको छ । प्रदेशका विभागीयमन्त्री र सचिवले प्रदेश सरकारको योजना प्रस्तुत गर्नेछन् । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले ल्याउने बजेटबारेमा समेत प्रदेश सरकारलाई जानकारी गराइने उपसचिव आचार्यले बताउनुभयो । समन्वय बैठक दुई दिनसम्म चल्नेछ । मुलुक सङ्घीयतामा गएपछि सङ्घीय र प्रदेश सरकारको प्राथमिकता तथा योजनामा तालमेल हुन नसकेकाले समन्वय गरी कृषिका कार्यक्रम तय गर्न सङ्घीय मन्त्रालयले यस प्रकारको पहल लिएको हो ।