मैले नदेखेको हजूरबा

Mar 7th, 2020

नेपाली वाङ्मयको दुनियाँमा हास्यव्यंग्यका स्व. सम्राट वासुदेव लुइटेल मैले देख्न नपाएका मेरा हजुरबा हुनुहुन्थ्यो । उहाँको बारेमा र उहाँसँग जोडिएको हजुरबाको नातासम्बन्धमा भन्नुभन्दा अघि मेरो उहाँसँग कसरी र कसको माध्यमबाट हजूरबाको नाता जोडियो ? भन्ने प्रश्न स्वतः तेर्सिने हुँदा केही अगाडिदेखिका आफ्ना घटनाहरूलाई लेख्नै पर्ने आवश्यक ठानेँ । मैले लेखेका यी घटनाहरूलाई अन्यथा नलिई उहाँसँगको स्मृतिसँग जोडिन पुगेको घटनामात्र ठानिदिनुहुन पाठकवर्गमा अनुरोध गर्दछु ।

ऐतिहासिक जिल्ला सिन्धुलीको भिमस्थानमा जन्मिएर त्यहीँ माध्यमिक तहको पढाइ सकी म सदरमुकामस्थित क्याम्पस पढ्नका लागि आफ्नो झोलीतुम्बा बोकेर हिँडे । ‘एसएलसीपछि राजधानीमै पढ्छु’ भन्ने ठूलो रहर थियो । तर राजधानीमा आफुले चिनेका र आउनेजाने भइरहेका कोही पनि थिएनन् । आमाले कहिलेकाहीँ भन्ने गर्नुहुन्थ्यो । “मेरो मावलीघर काठमाडौं नै हो ।” तर, मामाघरमा उहाँ आउजाउ गर्नुभएको मलाई थाहा भएन । मावली हजूरआमा बित्नुभएकै साल म जन्मिन पुगेछु । हजूरआमा हुनुभएको भए सायद, उहाँको साथमा म बूढोमावली आउनेजाने गर्थेँ होला र काठमाडौं मेरा लागि नौलो हुने थिएन पनि होला । 

सिन्धुलीमा आइ.एल दोस्रो वर्षको परीक्षा दिएपछि काठमाडौं हेर्न जाने ठूलो रहर पलाएर आयो, ममा । घरमा पुगेर आमालाई सोधेँ, आमाको मावलीघरको बारेमा । 

“हजुरबुवा हजुरआमा त हुनुहन्न तर जेठो मामा हुनुहुन्छ । उहाँको नाम पंडित सोमनाथ घिमिरे हो, ठूलो नाम चलेका पंडित हुनुहुन्छ । काठमाडौंमा उहाँको धेरै सम्पत्ति पनि छ, तँलाइ बस्न–खानको समस्या हुँदैन । काठमाडौंको टंगाल हो क्यार घर चैँ !” दोधारमा पर्दै उहाँले भन्नुुभयो ।

“आऽ टोलको नाम थाहा भइहाल्यो, नाम सोधेर पनि पत्ता लाइहाल्छु नि !” भन्ने सोचेँ, अनि “भोलि नै काठमाडौं जान्छु” भनी आमाबुवालाई भनेँ । ‘काठमाडौंको मान्छेलाई गाउँको गुन्द्रुक र मस्यौरा’ मनपर्छ भनेर मामामाइजुलाई कोसेली गुन्दु्रक र मस्यौरा पोको पारिदिनुभयो, आमाले । गाडी चढ्ने ठाउँसम्म पुग्न आठ घन्टा हिँड्नुपर्ने र बास बस्नुपर्ने भएकोले बाटोमा खानको लागि खाजा पनि हालिदिनुभयो, झोलामा । त्यसपछि म, मनमा अनेक रहर र सपना बोकी उत्सुकताकासाथ काठमाडौं जान भनी हिँडे । मनमा कताकता डर लागिरहेको थियो— ‘कैल्यै घरबाट टाढा ननिस्केको मान्छे, त्यसमाथि काठमाडौँ सहर !’ 

“आऽ बूढोमावलीको टोलको नाम थाहा भइहाल्यो जे होला, होला !” यस्तै तर्कनाहरू मनमा खेल्दाखेल्दै म सदरमुकाम आइपुगेँ । भोलिपल्ट असी रूपैँया तिरेर टिकट लिएँ । त्यसबेला सिन्धुली–काठमाडौंको भाडा असी रूपैँया थियो । 

काठमाडौंमा झरेपछि मैले बूढोमावली जानको लागि पुरानो बसपार्कमा एउटा मान्छेलाई टंगालको ठेगाना सोधेँ । उसले— “उ त्यताबाट जाने” भन्यो ।

बूढोमावली घर पत्ता नलाग्दा र कतै बस्ने बास नहुँदा दुई दिनको सडक बासपछि म बल्ल टंगालस्थित बूढोमावली पुगेँ । एकजना तेजस्वी अनुहार भएका बृद्ध चकटीमा पँलेटी कसेर बसिरहनुभएको थियो । उहाँ नै मेरो हजुरबुवा अर्थात् मेरी आमाको मामा हुनुहुँदो रहेछ— “पं. सोमनाथ घिमिरे व्यास” । उहाँसगँ चिनाजानी भएपछि उहाँले खुशी हुँदै— “ओऽहो ! यो त मेरो मुसी बहिनीको नाति पो रहेछ ! ठ्याक्कै मुसीजस्तै ! ए.., मान्छे ! एता आइज त हेर् ! को केटो आएछ !” भनी हजुरआमालाई बोलाउनुभयो । (हजूरबा हजूरआमालाई ‘मान्छे’ भनेर बोलाउनुहुन्थ्यो) |
भोलिपल्ट बिहान उहाँले छोराहरू अर्थात् मेरा मामाहरूको घर देखाउँदै— “उः त्यो आत्मा, जेठोको घर हो, उः त्यो गाई पालेकोचाहिँ साइँलाको घर हो, उः त्यो माइला रामुको घर हो…। जा, सबै मामाहरूसँग चिनजान गर” भन्नुभयो । मामाहरू पनि सात भाइ हुनु हुँदो रहेछ । 

गाउँमा जन्मे हुर्केको म, सुरुमा गाई पाल्ने मामाको घरमा नै गएँ, चिनापर्ची गर्न । त्यसपछि आएँ, आत्मा मामा (रोचक घिमिरे) को घरमा । उहाँकोमा आएपछि थाहा भयो— ‘उहाँ त ठूलो साहित्यकार हुनुहुँदो रहेछ’ भन्ने कुरा । मैले किताबमा पढेका कथाकार, कवि, हास्यव्यंग्यकारहरू— भैरव अर्याल, रमेश विकल, मदनमणि दीक्षित आदि उहाँको नजिकका, चिनजान भएका र कोही त सहपाठीहरू नै रहेछन् । सानैदेखि लेखक, साहित्यकार भनेपछि दङ्ग पर्ने मलाई लाग्यो— “मेरा आफन्तहरू पनि ठूलाठूला मान्छे रहेछन् ।” म अति गौरवान्वित भएँ । उहाँकोमा बस्दै गर्दा मैले किताबमा मात्रै पढेका धेरै साहित्यकारहरूसँग भेट भयो । यसै सिलसिलामा वासुदेव लुइटेल (भूतको भिनाजु) को विषयमा पनि धेरै थाहा भयो, मलाई । उहाँका धेरै हास्यव्यंग्य कृतिहरू मैले पढेको थिएँ, तर मामाबाट मैले उहाँको व्यक्तिगत र व्यावहारिक कुराहरू पनि थाहा पाउने मौका पाएँ । 

मामा र वासुदेवको साँझपख दैनिक आधा÷एक घन्टा टेलिफोनमा कुराकानी हुन्थ्यो । दिनभरि भएका साहित्यिक कार्यक्रम र घटनाहरूका बारेमा उहाँ वासुदेव लुइटेललाई सुनाउनुहुन्थ्यो । ‘अब फेरि कहाँ, कस्तो कार्यक्रम हुँदैछ’ भन्ने बेलिविस्तार पनि मामाले लगाउनुहुन्थ्यो । यस कामबापत् उहाँले वासुदेव लुइटेलबाट ‘हजुरीया जर्नेल’को पद नै पाउनुभएको थियो । मामाको सङ्गतबाट नै मैले वासुदेवका थप नयाँ कृतिहरू र नछापिएका कृतिहरू पढ्ने अवसर पाएँ ।

सधैँजस्तो मामा र वासुदेवको टेलिफोन वार्ता भइरहेको थियो, तर त्यस दिन साहित्यिक विषयमा वार्ता नभएर कसैको वैवाहिक कार्यक्रमको बारेमा वार्ता भएको, मैले सुनेँ । म मामा नजिकै घुँडा टेकेर दैनिक अखबार पढ्दै थिएँ । म मामा अगाडि बस्दा जहिले पनि घुँडा टेकेर बस्छु । उहाँको अगाडि परेपछि निस्फिक्री भएर पँलेटी कसेर बस्न कहिल्यै सक्दिनँ । ‘नेपाली साहित्यकाशका चम्किला तारा हुनुहुन्छ, उहाँ । उहाँप्रतिको मेरो सम्मान हो, यो !’ भन्ने ठान्छु त्यस्तो बसाइलाई, म । 
मेरो ध्यान अखबारका अक्षर पढ्नुभन्दा पनि मामा र वासुदेवको टेलिफोन संवादमा थियो । मामा भन्दै हुनुहुन्थ्यो— “म त बिहामा जान पाउँदिनँ, छोरा प्रतीकलाई पठाइदिनु पर्ला !” वासुदेव माड्साप त झन् कुनै कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो । उहाँलाई प्रमुख अतिथी बनाउन चाहना भएकाहरूले पनि उहाँको तस्वीरलाई प्रमुख अतिथी मानेर उहाँको आत्थ्यितालाई स्वीकार्नुपथ्र्यो ।

वासुदेव माड्सापले— “तपाईंलाई थाहा नै छ, म कुनै कार्यक्रममा सहभागी हुन्न । अब बिहामा फोटो पठाएर निम्ता स्वीकार्ने कुरा पनि भएन । छोरीको बिहा, फेरि टीका लगाएर दक्षिणा पनि दिनुप¥यो । तपाईंले नै मेरो प्रतिनिधि खोजेर निम्तो मान्न पठाइदिनू” भन्नुभएछ । म मनमनै सोच्दैथिएँ— “वासुदेव माड्सापलाई समेत निम्तो पुग्ने यो बिहे पक्कै पनि ठूलै मान्छेको हुनुपर्छ ।” मामाले उहाँलाई भन्दै हुनुहुन्थ्यो— “ल, तपाईंको नाति बनाएर म निम्तो मानिदिने प्रतिनिधि पठाइदिन्छु, तपाईं ढुक्क हुनुहोस् ।”

फोन राखिसकेपछि मामाले मलाई— “वासुदेवको नाति बन्नुप¥यो, तिमिले ! आज पुस्कर लोहनीको छोरीको बिहा छ, तिमी वासुदेव माड्सापको नाति बनेर निम्तो मान्ने प्रतिनिधि हुनुप¥यो । ल, विवाहमा जाने तरखर गर” भन्नुभयो । बल्ल थाहा पाएँ, मैले धेरै पुस्तकमा पढेको पुस्कर लोहनीको छोरीको बिहा रहेछ । उहाँको विषयमा मैले धेरै कुराहरू सुनेको थिएँ । अरूभन्दा पनि उहाँ ‘यौनवादी साहित्यकार हो’ भन्ने मलाई थाहा थियो ।   

मनमा डर लागिरहेको थियो, तर वासुदेवजस्तो महान् हास्यव्यङ्ग्यसम्राटको नाति बन्न पाउँदा गद्गद् पनि भएको थिएँ । निम्तोको उल्लिखित समयमै हामी पुस्कर लोहनीको घरमा पुग्यौँ, घट्टेकुलो । त्यहाँ पुगिसकेपछि औपचारिक चिनापर्चीमा मैले— “म वासुदेव लुइटेलको नाति, उहाँ आउन सक्नुभएन, त्यसैले उहाँको प्रतिनिधि भएर म आएको” भनेँ । दुलहीका बाबु (पुस्कर लोहनी) ले “ए… हो !” मात्र भन्नुभयो । 

म भित्रभित्र डराइरहेको थिएँ, कतै अरू सोधखोज हुन्छ कि ! भनेर । उहाँले त केही भन्नु भएन, तर ‘म वासुदेव लुइटेलको नाति’ भनेर परिचय दिँदा सुन्ने र वासुदेवप्रति रुचि राख्ने अतिथिहरूले भने मसँग कुरा गर्न थाले । मेरो अनुहार रातोपिरो हुँदै गयो । उनीहरूले सोध्न थाले— “हजुर कुन बहिनीको छोरा, अ‍ैले के गर्दै हुनुहुन्छ, हजुरबुवालाई के, कस्तो छ, अहिले ?” । मलाई के भनुँ, के भनुँजस्तो भयो । अनुहारको रङ नै बदलियो । झट्ट मेरो मुखबाट— “म उहाँको भान्जीको छोरा, घर सिन्धुली हो, अ‍ैले यहीँ हजुरबा (वासुदेव लुइटेल) को घरमै बस्छु, पढ्न भनेर काठमाडौँ आएको, अहिले उहाँलाई ठीक छ, तर अचेल बाहिर कतै पनि निस्कनु हुन्न ।” उनीहरूले सोधेको जवाफ एकैपटकमा दिएँ । त्यसपछि मसँग कोही पनि कुरा गर्न आएनन् । मनमनै नआइदिए हुन्थ्योजस्तो पनि लागिरहेको थियो ।

प्रतीक दाइ बेहुलीलाई टीका लगाइदिन जानुभयो, म पनि उहाँको पछिपछि लागेँ, टीका लगाइदिन । मैले खाममा हालेर रु. ५०० दक्षिणा दिएँ । (त्यो नगद उपहार वासुदेवको तर्फबाट मामाले मेरो खल्तीमा हालिदिनुभएको थियो) त्यसपछि हामी लाग्यौँ— बिहेको भतेर खान । गाउँमा हुँदा बारीको डिलमा लहरै बसेर टपरीमा खाएको बिहेको भतेर सम्झेँ । मासुको एकदुई चोक्टा हुन्थ्यो, अरू सबै पानीजस्तो झोल । हामी केटाकेटी चलख्याइँ गथ्र्यौं— भान्सेले खड्कुलो भतेर बाँड्दै जानुअघि सबैका अगाडि टपरी राख्दै जान्थे, अनि हामी हतारहतार टपरीको पिँधमा प्वाल पाथ्र्यौं । मासुको रसजति प्वालबाट चुहेर जान्थ्यो । हामी फेरि “मासुको झोल…!” भन्दै चिच्याउँथ्यौँ, अनि डाडुले मासुको झोल थपिदिन्थे । त्यो झोलसँगै फेरि एकदुई चोक्टा मासु आउँथ्यो । त्यही चोक्टा पाउने लोभले हामीले पैला नै टपरीमा प्वाल पारेका हुन्थ्यौँ ।  

यहाँको भतेर त गज्जबको हुँदोरहेछ, मासुका चोक्टा मात्र छुट्टै भाँडोमा राखेका । पाँचसात थरिका तरकारी र अचार ! झन् त्यसमाथि जति खाने हो, आफैँले झिक्दै हाल्न पाइने ! मलाई अफ्ठ्यारो लागिरहको थियो, त्यस्तो भतेर मैले पहिलोचोटि खान जाँदै थिएँ । प्रतीक दाइ अघिल्तिर र म पछिल्तिर थिएँ । उहाँले थोरैथोरै पस्कँदै जानुभयो, प्लेटमा । उहाँले जेजे खानेकुरा जतिजति हाल्दै जानुभयो, मैले पनि त्यहीत्यही गरेँ ।  

बिहेको भतेर खाइसकेपछि हामी फक्र्यौं, त्यसपछि भने म ढुक्क भएँ । त्यो दिन मेरा लागि अविष्मरणीय दिन भयो । त्यसपछि पनि बाटोमा हिँड्दाखेरि मनमा एकातर्फ कसैले— “ऊः वासुदेवको नाति !” भनेर उहाँको विषयमा मसँग सोध्ने हुन् कि ! भन्ने भय हुन्थ्यो भने अर्कातर्फ वासुदेव लुइँटेलको नाति बन्न पाएकोमा गर्वित पनि हुन्थेँ ।

त्यस दिनदेखि मेरो अन्तर्मनले ‘म वासुदेव लुइटेलको नाति हँु’ भनेर स्वीकारेको छ । त्यसपछि वासुदेव लुइटेल पुरस्कार र (उहाँको जिउँदै श्राद्ध गर्ने कार्यक्रम) मा पनि सहभागी भएर उक्त कार्यक्रमको ब्यानर आफैँले तयार गरी मञ्चमा टाँग्ने र मञ्च सजाउने कार्यहरू गर्न थालेँ । आफ्नो जिउँदै श्राद्ध गर्ने कार्यक्रममा उहाँ उपस्थित हुनुहुन्नथ्यो । 

केही महिनापछि म हजूरबा पं. सोमनाथ घिमिरेको साथमा देवघाट गएँ । म भएपछि उहाँसँगै बस्ने कान्छो मामा पनि उहाँहरूको खेती भएको ‘अग्लेश्वरा’ भन्ने ठाउँमा गई धेरै समय फर्केर आउनुभएन । अरू मामाहरू भिन्नै भएर बस्नुभएको थियो, त्यहीँमाथि सबै आआफ्ना काममा व्यस्त हुनुहुन्थ्यो । बृद्ध हजूरबा–आमालाई छोडेर हिँड्न पनि सकिनँ, म । बस्दाबस्दै डेढ वर्ष बितेछ । पछि कान्छो मामा आउनुभएपछि पनि म त्यहीँ बस्नुपर्ने परिस्थिति देखेपछि उम्कने एउटा जुक्ति निकालेँ । एकदिन हस्ताक्षर अलि फरक पारेर घरबाट बुबाले ‘आमा बिरामी परेको हुँदा तुरुन्तै घर आइज !’ भन्ने व्यहोराको चिठी लेखेर देवघाट हजुरबाको ठेगानामा आइपुग्ने गरी नारायणघाट हुलाकमा गएर खसालेँ । यो मेरो बदमासी भनौँ या बाध्यता ! हजुरबा बित्नुभएको कैयौँ वर्षपछि यसै संस्मरणमा लेख्न मन लाग्यो ।

मैले लेखेको चिठी देवघाट आइपुग्यो । पढेर सुनाएपछि कसैले रोक्न सक्नुभएन र म हजूरबा–आमालाई छोडी घरतर्फ लागेँ ।

आफ्नो भविष्य बनाउनका लागि ‘होटल म्यानेजमेन्ट पढ्न जाने’ भनेर एउटा चिनेकै साथीसँगै बैंकक हुँदै सिंगापूर गएँ । सिंगापूरबाट फर्केर आउँदा मैले नदेखेको हजूरबा वासुदेव लुइटेलको निधन भइसकेको थियो । उहाँले— “मेरो नाति कहाँ छ ? के गर्छ ? मकहाँ भेट्न पठाइदिनू । मेरो नाति बन्न सहर्ष स्वीकारेर मेरो प्रतिनिधि भई पुस्करको छोरीको बिहेको निम्तो मान्न जाने त्यो नातिलाई भेट्न औधी मन छ ।” बेलाबेलामा भन्ने गरेको कुरा ठूलोमामाले सुनाउनुभयो । सिंगापुरको चर्को गर्मीले सुकेका मेरा आँखा आँशुले भरिए, गलामा केही अड्केजस्तो भयो, सास फेर्न गाह्रो भयो अनि मुखबाट अमिलो पानी आयो । उहाँलाई प्रत्यक्ष भेटेर “पुस्कर लोहनीको छोरीको बिहा–निम्तो मान्न जाने तपाईंको नाति, मै हुँ” भन्नसमेत पाइँन । उहाँलाई भेटेने मेरो मनको उत्कट अभिलाषा पूरा भएन ।     

आज वर्षौंपछि उहाँसँग रहेको अचम्मको स्मृति फेरि हृदयमा मडारिएर आयो । ‘यस्तो लेख्नु हुन्छ कि, हुन्न !’ भनेर दोधारमा परेँ । साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ र रोचक मामाको प्रेरणाले यस्तो लेख्ने अवस्था पनि जु¥यो र मेरो यो स्मृतिलाई आज कम्प्युटरको स्क्रिनमा कोर्न पुगेँ ।