बुद्धजयन्ती मनाउन विभिन्न समिति

Mar 7th, 2020

– कमल रायमाझी
भैरहवा, २४ फागुन (रासस)

दुई हजार ५६४औँ बुद्धजयन्ती तथा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएका छन् । लुम्बिनी विकास कोषका कायममुकाम सदस्यसचिव ज्ञानिन राईका अनुसार बुद्धजयन्ती तथा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलनलाई लक्ष्य गरी २२ उपसमितिका संयोजक चयन गरिएका हुन् ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीको संयोजकत्वमा अन्तर्राष्ट्रिय सम्मेलन व्यवस्थापन उपसमिति गठन गरिएको छ । लुम्बिनी विकास कोषको कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्यको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति, प्रदेश समन्वय उपसमिति संयोजकमा प्रमुख सचिव, प्रदेश सरकार, प्रदेश नं ५, वृक्षरोपण तथा सरसफाइ उपसमितिका संयोजकमा लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरी चयन हुनुभएको हो ।

प्रचारप्रसार उपसमितिका संयोजकमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्य, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा अन्तरनिकाय समन्वय उपसमिति, प्रा डा त्रिरत्न मानन्धरको संयोजकत्वमा प्राज्ञिक उपसमिति, अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष भिक्षुमैत्री महास्थवीरको संयोजकत्वमा धार्मिक पूजा तथा अनुष्ठान उपसमिति गठन गरिएको लुम्बिनी विकास कोषको सूचना शाखाले जनाएको छ ।

कार्यसम्पादन उपसमितिका संयोजकमा लुम्बिनी विकास कोषका कामु सदस्यसचिव ज्ञानिन राई, मञ्च व्यवस्थापन उपसमितिका संयोजकमा योजना प्रमुख सरोज भट्टराई र म्याराथन तथा पदयात्रा उपसमितिका संयोजकमा लुम्बिनी विकास कोषका सद्भावनादूत विक्रम पाण्डे चयन हुनुभएको कोषले जनाएको छ ।

कपिलवस्तु समन्वय उपसमितिका संयोजकमा कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंह, रामग्राम समन्वय उपसमितिका संयोजकमा रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रप्रसाद गुप्ता, देवदह समन्वय उपसमितिका संयोजकमा देवदह नगरपालिकाका प्रमुख हीराबहादुर केसी र सैनामैना समन्वय उपसमिति संयोजकमा सैनामैना नगरपालिकाका प्रमुख चित्र केसी चयन हुनुभएको छ ।

सुरक्षा प्रबन्ध उपसमितिको संयोजन गृह मन्त्रालयका सहसचिव र अतिथि सत्कार उपसमितिको संयोजन परराष्ट्र मन्त्रालयका शिष्टाचार महापालले गर्ने कार्यक्रम तय भएको छ । उपसमितिले कोषका कार्यकारी सदस्यलाई पनि जिम्मेवारी प्रदान गरेको छ । सोअनुसार आवास तथा खाद्य प्रबन्ध उपसमितिको संयोजकमा कार्यकारिणी समिति सदस्य राजेश ज्ञवाली, यातायात प्रबन्ध उपसमितिका संयोजकमा कार्यकारिणी समिति सदस्य हेमन्त कोलाक्षपति र स्वयंसेवक व्यवस्थापन उपसमितिका संयोजकमा कार्यकारिणी सदस्य अमिरका कोहार चयन हुनुभएको छ ।

सांस्कृतिक तथा प्रवद्र्धन उपसमितिका संयोजकमा नेपाल भ्रमण वर्ष–२०२० को सचिवालय सदस्य बच्चुनारायण श्रेष्ठ र हस्तकला व्यवस्थापन उपसमितिका संयोजकमा नेपाल हस्तकला महासङ्घका अध्यक्ष चयन हुनुभएको छ । एक सातासम्म मनाउने गरी सरकारले २५६४औँ बुद्धजयन्तीका विविध कार्यक्रम सार्वजनिक गरेको छ । आगामी वैशाख १९ गतेदेखि हुने बुद्धजयन्ती समारोहको मूल समारोह वैशाख २५ गते लुम्बिनीमा हुनेछ ।

साताव्यापी कार्यक्रमअन्तर्गत २०७७ साल वैशाख १९ गते रुपन्देही, कपिलवस्तु र नवलपरासीका नगरपालिका क्षेत्रमा सरसफाइ अभियान चलाउने, २० गते लुम्बिनीमा रक्तदान, २१ गते वृक्षरोपण, २२ गते विश्वशान्ति पदयात्रा तथा म्याराथन दौड प्रतियोगिता, २३ गते अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन (पहिलो दिन), २४ गते अन्तरराष्ट्रिय बौद्ध सम्मेलन (दोस्रो दिन) र २५ गते मूल समारोह आयोजना हुनेछ । यसैगरी २६ गते लुम्बिनीदेखि कपिलवस्तु मायादेवी प्रसूति यात्रासहित विविध कार्यक्रम तय भएको कामु सदस्यसचिव राईले बताउनुभयो ।