नमूना युवा संसद्को अभ्यास

Mar 7th, 2020

म्याग्दी, २४ फागुन (रासस)

बेनी नगरपालिका–८ कालीपुलकी सोनीया पुनको अगाडि सभामुख लेखिएको नेम प्लेट थियो । सोफामा बसेकी उनको पछाडि दौरा सुरुवाल लगाएका मर्यादापालक संयमित भएर उभिएका थिए । पुन हलभित्र पस्दा र बाहिरिँदा उनको सम्मानमा लहरै बसेका सहभागीले उठेर सम्मान गर्थे । सहभागीले सत्तारुढ दलका र प्रतिपक्षी दलका सांसद्को रुपमा मञ्चमा गएर प्रश्न गर्थे । अनि त्यसैगरी उत्तर पनि दिन्थे । शुक्रबार बेनीमा भएको नमूना युवा संसद्को अभ्यासको दृश्य सङ्घीय, प्रदेश संसद र स्थानीय तहका सभा बैठककै जस्तो झल्को दिने खालको थियो ।

बेनी नगरपालिकाको शिक्षा, युवा तथा खेलकूद शाखाको आयोजनामा युवायुवतीको क्षमता तथा नेतृत्व विकास गर्ने उद्देश्यले नमूना संसद्को अभ्यास गरिएको हो । नगरपालिकाको दश वटै वडाबाट २७ युवायुवतीको कार्यक्रममा सहभागिता थियो । उनीहरुले व्यवस्थापिका संसद् सञ्चालनको अभ्यास गरेका थिए । सभामुख, प्रधानमन्त्री, मन्त्री, सत्ता, प्रतिपक्ष दलको सांसदको रुपमा सदनमा बोल्ने र जवाफ दिने प्रक्रियाको बारेमा उनीहरुले निकै रोचकरुपमा अभ्यास गरेका हुन् । संसद् बैठक सञ्चालनको झल्को दिने गरी अभ्यास गरेका थिए । उदय सुन्दास प्रधानमन्त्रीको भूमिकामा प्रस्तुत भएका थिए । वरपर दर्शकदीर्घामा बसेर बैठक सञ्चालन गरेको अवलोकन गर्ने व्यवस्था मिलाइएको थियो । क्याम्पस र विद्यालयका विद्यार्थी नमूना संसद्को अभ्यास अवलोकनका लागि आएका थिए ।

उनीहरुले शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार विकाससम्बन्धी विषयमा संसद्मा प्रस्ताव पेश गर्ने, सम्बद्ध मन्त्री र प्रधानमन्त्रीको जवाफ माग्ने, विधेयक दर्ता, छलफल र निर्णयार्थ प्रस्तुत गर्ने अभ्यास गरेका थिए । कूल १३ युवती र १५ युवा नमूना युवा संसद्को अभ्यासमा सहभागी भएका थिए । उनीहरुलाई तीन दिनसम्म संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा तालीम दिइएको नगरपालिकाका अधिकृत युवराज थापाले बताउनुभयो । युवाको क्षमता र नेतृत्व विकास गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो । संविधानसभाका सदस्य नवराज शर्माले युवायुवतीको नमूना अभ्यासले वास्तविक संसद् हलभित्रै बसेकोजस्तो अनुभव व्यक्त गर्नुभयो । शर्मा र प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले तथ्य र सैद्धान्तिक विषयमा तथ्याङ्कसहित प्रस्तुत भएमा तर्क गर्न सकिने सुझाव दिनुभयो । बेनी नगरपालिकाको शिक्षा अधिकृत अर्जुन पौडेल, स्रोत व्यक्ति जयराम सुवेदी, समिर रोका र दर्पण रोकाले सहभागीलाई सहजीकरण गर्नुभएको थियो ।