• गृहपृष्ठ
  • संयुक्त राष्ट्र संघको आव्हानमा विश्‍व शान्ति स्थापना कार्यको लागि फौज पठाउने मुलुकहरु मध्ये नेपाल चौथो स्थानमा

संयुक्त राष्ट्र संघको आव्हानमा विश्‍व शान्ति स्थापना कार्यको लागि फौज पठाउने मुलुकहरु मध्ये नेपाल चौथो स्थानमा

Mar 7th, 2020

काठमाडौं,फागुन २४

संयुक्त राष्ट्र संघको आव्हानमा विश्‍व शान्ति स्थापना कार्यको लागि फौज पठाउने विश्‍वका १२२ देश मध्ये नेपाल पाँचौ स्थानबाट चौथो स्थानमा उक्लन सफल भएको छ । नेपाल १ जनवरी २०२० देखि पाँचौ स्थानबाट चौथो स्थानमा उक्लन सफल भएको हो।

हाल संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना कार्यको लागि विभिन्‍न १२ (बाह्र) वटा द्वन्द्वग्रस्त मुलुकहरुमा तैनाथ भएका नेपाली कण्टिन्जेण्ट, सैनिक पर्यवेक्षक र स्टाफ अधिकृतहरु गरि जम्मा ५,६५८ (पाँच हजार छ सय अन्ठाउन्‍न) जना सुरक्षाकर्मीहरु कार्यरत रहेका छन् ।

नेपाली सेनाका ५,०९६ (पाँच हजार छयानब्वे) जना शान्ति सैनिक र नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका ५६२ (पाँच सय बैसाठ्ठी) जना फौज विभिन्‍न द्वन्द्वग्रस्त मुलुकहरुमा तैनाथ रहेका छन् ।

पहिलो पटक सन् १९५८ मा युनाइटेड नेसन अब्जर्भेसन ग्रुप इन लेबनान मिशनमा नेपाली सेनाको तर्फबाट ५ जना सैनिक पर्यवेक्षक सहभागी भएका थिए भने हालसम्म १,२९,८९९ (एक लाख उनानतीस हजार आठ सय उनानसय) जना सैनिकहरुले सहभागिता जनाईसकेका छन् । नेपाली सेनाका १,४०१ (एक हजार चार सय एक) जना महिला शान्ति सैनिकहरुले सहभागिता जनाईसकेका छन् भने हाल १८१ (एक सय एकासी) जना महिलाहरु विभिन्‍न मिशनहरुमा कार्यरत रहेका छन् ।