• गृहपृष्ठ
  • छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

Mar 4th, 2020

काठमाडौं, २१ फागुन |

महोत्तरी र मोरङका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

महोत्तरी, पिपरा गाउँपालिका-४ हनुमान मन्दिरस्थित सडकमा ना.१ क ५८२६ नम्बरको टिपरले बीआर ३० एक्स ७७०२ नम्बरको मोटरसाइकललाई मंगलबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सम्सी गाउँपालिका-५ पोखरभिण्डा बस्ने ३५ वर्षीय कालिचरण यादवको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २३ वर्षीया सुधा यादवको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ, बिराटनगर महानगरपालिका-१९ मिलन चोकस्थित सडकमा को.१ ख २९१७ नम्बरको टिपरले प्रदेश १-००२ ह ८६०६ नम्बरको टेम्पोलाई मंगलबार राति ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा अटो चालक ग्रामथान-२ बस्ने ४५ वर्षीय बाबुराम सरदार र उनकै नातिनी ६ वर्षीया सबिता सरदार रहेका छन् । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।