• गृहपृष्ठ
  • कोरानाको कारण सुनको मूल्य आकाशियो, एकैदिन २२ सयले बढ्यो

कोरानाको कारण सुनको मूल्य आकाशियो, एकैदिन २२ सयले बढ्यो

Mar 4th, 2020

काठमाडौं, २१ फागुन

नेपाली बजारमा सुनको भाउ हालसम्मकै महङ्गो बन्न पुगेको हो । स्थानीय बजारमा सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार तोलामा ३ सय रुपैयाँले बढेको सुनको भाउ बुधबार २ हजार २ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ हालसम्मकै उच्च भएको जनाएको छ ।

त्यस्तै, आज बजार तेजावी सुनको पनि २ हजार २ सय रुपैयाँले बढेर ८० हजार २ सय रुपैयाँ पुगेको छ ।

यसअघि पहिलोचोटी २०७० साल भदौ १२ गते एकैपटक तोलामा ३ हजार ४ सय रुपैयाँले सुनको भाउ महङ्गिएको थियो ।

त्यस यता २०७३ साल असार १० गते दोस्रोचोटी तोलामा एकैपटक ३ हजार रुपैयाँले बढेको थियो भने त्यसयता फागुन २१ गते एकैपटक तोलामा २ हजार २ सय रुपैयाँ बढेको हो ।

तीव्र दरमा फैलिरहेको कोरोना भाइरसको महामारीबाट विश्व अर्थतन्त्रमा पर्न सक्ने प्रभाव सीमित बनाउन प्रमुख केन्द्रीय बैंकहरुले ब्याजदर घटाउने अपेक्षा बढेसँगै मंगलबार सुनको भाउले टेवा पाएको हो ।

न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जको कोमेक्स डिभिजनमा उक्त दिन सुनको भाउ प्रतिऔंस १ हजार ६ सय ढलरसम्मको उच्च बिन्दुमा पुगेको थियो ।

भाइरसको प्रभावबाट अर्थतन्त्रलाई राहत दिन ब्याजदर कटौती गरिने हालैका दिनमा अमेरिकी केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’ का अध्यक्ष जेरोम पावेल र युरोपेली केन्द्रीय बैंक (इसीबी) अध्यक्ष क्रिस्टियन लागार्दले संकेत दिएका थिए ।

सुनको मूल्य एकाएक बढ्न थालेपछि सुन व्यवयायी समेत दंग परेका छन् । नेपाल सुनचाँदी व्यावसायी महासंघका अध्यक्ष मोहन कुमार विश्वकर्माले कोराना भाइरसको संक्रमण फैलिएसंगै मान्छेहरु आत्तिएर सुनमा लगानी गर्न खोजेको उनले बताए ।

उनले भने , एकतिर डलरको भाउ बढ्नै अर्कोतिर कोराना फैलने, यस्तो भएपछि मानिसहरुले आफ्नो लगानी बैंकमा भन्दा सुनमा सुरक्षित देखे त्यसैले सुनको माग बढ्न गयो र भाउ पनि बढ्यो ।’ कोराना भाइरस नियन्त्रणमा नआएसम्म अन्तराष्ट्रिय स्तरमै यसको असर रहने उनले बताए ।