• गृहपृष्ठ
  • लक्ष्मीनारायण मन्दिरकाे गुठी जग्गा मातहत ल्याउने प्रक्रिया सुरु, के के भयो काम ?

लक्ष्मीनारायण मन्दिरकाे गुठी जग्गा मातहत ल्याउने प्रक्रिया सुरु, के के भयो काम ?

Mar 3rd, 2020

काठमाडौं ,२० फागुन

थापाथलीस्थित कुरियागाउँमा बनेको लक्ष्मीनारायणको मन्दिर र त्यस वरपरको करिब साढे तीन रोपनी गुठी जग्गा गुठी संस्थान मातहत ल्याउने प्रक्रिया सुरु भएको छ ।

मन्त्रिपरिषद्ले गुठी संस्थानलाई सो जग्गा मातहत ल्याउन आदेश दिएपछि व्यक्तिले हड्पेको जग्गा सस्थान मातहतमा ल्याउने प्रक्रिया सुरु भएको सस्थानका प्रवक्ता सरोज थपलियाले जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिका–११ मा रहेको मन्दिर र गुठी जग्गालाई पुरानै स्वरुपमा फर्काउन संस्थान लागिपरेको छ । सयौँ वर्ष पुरानो पुरातात्विक महत्वको मन्दिरमा हाल स्थानीयवासी प्रवेशमा समेत रोक लगाइएको छ ।

मन्दिर र यस वरपरको जग्गा पूर्वराजा वीरेन्द्रका चालक (पाइलट) गोपाल श्रेष्ठ हुँदै हाल उहाँकी श्रीमती इन्दिरा श्रेष्ठ र पछि उहाँका छोरा जयपाल श्रेष्ठका नाममा नामसारी भएको थियो । श्रेष्ठ परिवारले वर्षौंदेखि मन्दिर र त्यस वरपरको जग्गा निजी विद्यालय सञ्चालनका लागि भाडामा दिँदै आएको छ ।

यहाँ भिएस निकेतन, मेरी पपिन्स हुँदै हाल त्रैविद्या शिक्षा सदन भाडामा बस्दै आएका छन् । त्रैविद्या शिक्षा सदन गत वैशाखदेखि यहाँको टहरामा भाडामा बसेको प्रधानाध्यापक सङ्गीता श्रेष्ठले जानकारी दिनुभयो । करिब साढे तीन रोपनी जग्गा केही महिनामै संस्थान मातहतमा ल्याइने प्रवक्ता थपलियाले बताउनुभयो । संस्थानमा राजगुठीको लगत भएको सो जग्गा मालपोत कार्यालय वीरगञ्जबाट राजीनामा पास गरी श्रेष्ठ परिवारका नाममा आएको थियो ।

सयौँ वर्षदेखि मन्दिरमा प्रवेश गर्दै आएका स्थानीयवासी बिहान–बेलुका जान नपाउँदा दुःख लागेको बताउँछन् । विसं २००० मा व्रतबन्ध गर्दा आफू दर्शन गर्न लक्ष्मीनारायण मन्दिरमा गएको स्थानीय वृद्ध मुकुन्द आचार्य सम्झनुहुन्छ । “त्यसबेला मन्दिर सार्वजनिक थियो, वरपर चौर थियो, त्यहाँ हामी साँझ–बिहान खेल्थ्यौँ, मन्दिरमा दर्शन गथ्र्यौं, पछि मनोहरशम्शेरले गोपाल श्रेष्ठलाई रु नौ हजारमा बेचेको सुनियो, मन्दिर र यस वरपरको जग्गा सार्वजनिक भएकाले यसलाई जोगाउनुपर्छ”, उहाँले भन्नुभयो ।

यो मन्दिर ऐतिहासिक घटनासँग सम्बन्धित रहेको पुरुषोत्तमशम्शेरले लेख्नुभएको पुस्तक ‘श्री ३ हरुको तथ्य वृत्तान्त’ नामक पुस्तकमा समेत उल्लेख छ । लखनऊ लुटका नामले चर्चित भारतीय घटनामा त्यहाँका राजा रणजीत सिंह मुसलमानको आक्रमणमा परे । उहाँकी रानीले बचाउन भनी तत्कालीन राणा शासक जङ्गबहादुरसँग हारगुहार मागिन् । जङ्गबहादुरले रानीलाई ल्याएर थापाथलीस्थित प्रसूतिगृह नजीकै राखे ।

तिनै रानीले राजस्थानी शैलीमा लक्ष्मीनारायण मन्दिर बनाएको विषय पुरुषोत्तमशम्शेरले पुस्तकमा उल्लेख गर्नुभएको संस्कृतिको अध्ययन अनुसन्धानमा लाग्नुभएका चेतोनाथ शर्मा आचार्यले जानकारी दिनुभयो ।
पुस्तौँदेखि बिहान–बेलुका मन्दिरमा पूजाआजाका लागि प्रवेश गरिरहेका स्थानीयवासीलाई एकाएक रोक्न थालेपछि यसका विरुद्ध केही मानिस सङ्गठित भए । यो विषय गुठी संस्थानसम्म पुग्यो ।

संस्थानले मन्दिर र त्यस वरपर रहेको जग्गा गुठीको हो भन्ने तथ्य प्रमाण फेला पारेको थियो । मन्दिरको अघि सानो पोखरी थियो । पोखरीमा जलमाथि सुत्नुभएका नारायणको मूर्ति राखिएकामा अहिले त्यो संरचनासमेत हटाइएको छ । पोखरीमा कमल फुल्थ्यो । त्यही कमलको फूल लक्ष्मीनारायण मन्दिरमा चढाइन्थ्यो । यो परम्परासमेत लोप भएको छ ।

मन्दिर वरिपरिको जग्गामा विसं २०२३/२४ तिर क्याप्टेन गोपालले निर्माण गर्नुभएको जस्ताको टहरा हावाले उडाएको चेतोनाथको स्मरणमा अझै ताजा छ । मन्दिरमा निर्बाध आउजाउ गर्न पाउनुपर्ने माग गर्दै स्थानीयवासी पूर्णलाल, अश्लेचन, लगायतका स्थानीयवासी, सर्वमङ्गल युवा समूहका सदस्य सचिव अर्जुन अधिकारी, सम्पदा संरक्षण उपभोक्ता समितिका अध्यक्ष सुशान्त श्रेष्ठलगायत मन्दिर संरक्षणमा जुटिरहनुभएको छ ।

यहाँबाट पारि ललितपुर सामान वारपार गरिने भएकाले करिया गाउँ भनिन्थ्यो । भीमसेन थापाले हाल नेपाल कला परिषद् भएको स्थानमा दरबार बनाएपछि यो ठाउँलाई थापाथली भन्न थालिएको विषय पुरुषोत्तमशम्शेरले आफ्नो पुस्तकमा उल्लेख गर्नुभएको छ । अवशेषका रुपमा थापाको दरबारको मूल ढोका विसं २०६५ सम्म आफूले देखेको अधिकारीले सुनाउनुभयो ।

जङ्गबहादुर राणाको पुख्र्यौली घरसमेत थापाथलीमै थियो । थापालाई राणाले यहाँबाट हटाएपछि कुरियागाउँ भन्न थालिएको स्थानीयवासी बताउँछन् । मन्दिरमा संस्थानले नियुक्त गरेका पुजारीले नै पूजा गर्दै आएका छन् ।
रासस