• गृहपृष्ठ
  • अर्थमन्त्री दोहोरिने हल्लाले घटायो बजार, के निरन्तर घट्ला बजार ?

अर्थमन्त्री दोहोरिने हल्लाले घटायो बजार, के निरन्तर घट्ला बजार ?

Mar 3rd, 2020

काठमाडौं, फागुन २०
अर्थमन्त्री युवराज खतिवडा पुन मन्त्रीमा दोहोरिने गरि आएका समाचारहरुले सोमबार सर्किट ब्रेक लाग्ने गरि नै बजार घटाएको छ । अघिल्लो साता दुई सय अंकले बढेको परिसूचक एकै दिन करिब १ सय अंकले घटेको छ ।

बजार ठूलो अकंले गिरावट हुने देखेपछि नेप्सले बिचमै कारोबार बन्द गरेको थियो । सेयर बजारप्रति अनुदार बनेको आरोप खेप्दै आएका युवराज खतिवडाले अर्थमन्त्रीमा निरन्तरता पाउने समाचारले पनि लगानीकर्ता सेयर किन्नभन्दा बेच्नतिर लागेका हुन् । कारोबार सुरु भएको दुई घण्टा नहुँदै नेप्से परिसूचक ५ प्रतिशतभन्दा बढीले ओरालो लागेपछि कारोबार ४० मिनेटका लागि बन्द गरिएको थियो । नेप्से ५ प्रतिशतभन्दा बढीले बढ्दा र घट्दा सर्किट ब्रेक लगाउने गरिएको छ । त्यसपछि खुलेको बजारमा गिरावट जारी रहि परिसूचक ६ प्रतिशतभन्दा बढीले झरेपछि डेढ घण्टा अगावै कारोबार मंगलबारसम्मका लागि स्थगित गरिएको हो ।

सेयरबजार परिसूचक नेप्से सोमबार सुरुवाती १७ मिनेटमै ४० अंकले घट्यो । बजारमा किन्नेहरुभन्दा बढि बेच्नेहरु थिए, जसका कारण कारोबार सुरु हुने बित्तिकै नेप्से घट्न थाल्यो । नाफा बुक गर्ने लगानीकर्ताको होडले सेयर बिक्रिको चाप बढेको हो । यसका अलावा यसैको असर स्वरुप केही दिनयता भएको उच्च कारोबारमा उच्च रकमको सेयर किनेका लगानीकर्ताले भुक्तानी नगरेकाले ब्रोकर कम्पनीले नै त्यस्ता सेयर बिक्रीमा राखेको परिणाम बजारमा पहिरो गएको विश्लेषकको भनाइ छ ।

सर्किट ब्रेकरको नयाँ नियम लागु भएपछि सर्किट लागेर बजार बन्द भएको भने यो पहिलो पटकको हो। नयाँ नियम अनुसार कारोबारको पहिलो १ घण्टामा नेप्से ४ प्रतिशत, दुई घण्टा भित्र ५ प्रतिशत र कारोबार अवधिभर ६ प्रतिशत घटबढ भएमा सर्किट लाग्दछ । यस अघि सो समयावधिमा नेप्से क्रमशः ३ प्रतिशत, ४ प्रतिशत र ५ प्रतिशत घटबढ भएमा सर्किट लाग्ने व्यवस्था रहेको थियो ।

गत साताको अन्तिम कारोबार दिनसम्म नेप्से परिसूचक उच्च दरमा बढी रहेको थियो। नेप्सेको वृद्धिलाई कारोबार रकमले पनि साथ दिएपछि लगानीकर्ताहरु झन् हौसिएका थिए । बजार बढेसँगै नेप्सेको दैनिक कारोबार रकमले नयाँ नयाँ रेकर्ड बनाइरहेको थियो । तर आइतबार देखि भने त्यसमा बिराम लागेको छ ।

अब बजार निरन्तर बढ्छ भन्ने आधार छैन । किनकी देश तथा विदेशको समेत अर्थतन्त्र धरासायी हुँदै गएको अवस्थामा बजार माथि जाला भनेृर लगानी गर्नु पनि त्यति उचित होइन ।