लिभरपुल वाटफोर्डसँग ३–० ले पराजित

Mar 1st, 2020

काठमाडौँ, १८ फागुन

लिभरपुलले इङ्लिश प्रिमियर लिग फुटबलमा सिजनको पहिलो हार ब्यहोरेको छ । शनिबार राति भएको खेलमा वाटफोर्डले लिभरपुललाई ३–० ले हराएको हो ।

वाटफोर्डको जितमा इस्माइला सारले दुई र कप्तान डेनीले एक गोल गरे ।पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा घरेलु टोली वाटफोर्डले दोस्रो हाफमा तीन गोल गरेको थियो ।

५४ औं मिनेटमा सारले डोकोरोको पासमा गोल गर्दै वाटफोर्डलाई सुरुवाती अग्रता दिलाए । त्यसको ६ मिनेटपछि नै सारले व्यक्तिगत दोस्रो गोल गर्दै वाटफोर्डको अग्रता दोब्बर पारे । ७२ औ मिनेटमा कप्तान डेनीले गोल गर्दै वाटफोर्डको शानदार जित सुनिश्चित गरेका थिए । कप्तान डेनीले सारकै पासमा गोल गरेका हुन् । यो सिजन लिगको २८ औँ खेलमा आएर लिभरपुल पराजित भएको हो । यसअघि एक खेलमा बराबरी खेलेको थियो।

लिभरपुलले पछिल्ला १८ खेलमा लगातार जित निकालेको थियो र एक खेल जितेको भए प्रिमियर लिगको इतिहासमा सबैभन्दा धेरै खेल जित्ने कीर्तिमान आफ्नो नाममा लेखाउने थियो ।

हारपछि पनि लिभरपुल २८ खेलबाट ७९ अंकसहित लिगको शीर्ष स्थानमा रहेको छ। लिभरपुलले दोस्रो स्थानको म्यानचेष्टर सिटीमाथि २२ अंकको अग्रता कायमै राखेको छ । लिगमा लिभरपुलले अझै १० खेल खेल्न बाँकी छ र ४ खेल मात्र जितेपनि उपाधि भने जित्नेछ । त्यस्तै वाटफोर्डको २८ खेलमा २७ अंक रहेको छ र लिगको १७औ स्थानमा रहेको छ ।