neapl investment mega bank
  • गृहपृष्ठ
  • गण्डकी प्रदेशमा व्यावसायिक किसानलाई ब्याज अनुदान : मन्त्री थापामगर

गण्डकी प्रदेशमा व्यावसायिक किसानलाई ब्याज अनुदान : मन्त्री थापामगर

Feb 29th, 2020

गोरखा, १७ फागनु (रासस)

गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले ऋण लिएर व्यावसायिक कृषिखेती गर्ने कृषकलाई अब ब्याज अनुदान उपलब्ध गराउने बताउनुभएको छ । प्रदेश सरकारले चालू आर्थिक वर्षदेखि नै कृषकका लागि ऋणमा ब्याज अनुदान कार्यक्रम कार्यान्वयन शुरु गरेको उहाँले बताउनुभयो ।

मन्त्री थापामगरले वित्तीय सहकारीहरुले आफ्नो कूल पुँजीको ३० प्रतिशत उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने र कृषि सहकारीले आफ्नो ७० प्रतिशत रकम कृषि उत्पादनमा लगानी गर्नुपर्ने ऐनमै व्यवस्था गरिसकेको भन्दै कृषक र वित्तीय संस्था थपबीच विश्वासको वातावरण बनाउन ब्याज अनुदान कार्यक्रम ल्याइएको बताउनुभयो । “गण्डकी प्रदेशभित्र मात्रै सहकारी क्षेत्रमा रु ६५ अर्बभन्दा बढी पूँजी छ”, मन्त्री थापामगरले भन्नुभयो, “अब कम्तीमा रु १९ देखि २० अर्बमा उनीहरुले कृषि क्षैत्रमा लगानी गर्नुपर्छ ।”

सरकारले कृषि क्षेत्रमा विशुद्ध अनुदान विधि मात्र नभई किसान आफैँले ऋण लिएर व्यवसाय गर्न सकोस् भन्ने उद्देश्यले पनि ब्याज अनुदान कार्यक्रम ल्याएको मन्त्री थापामगरले बताउनुभयो । उहाँले प्रदेश सरकारले ल्याएको सहकारी ऐनको कार्यान्वयनसँगै कृषि क्षेत्रमा पूँजीको अभाव नहुने बताउनुभयो । मन्त्री थापामगरले गाउँगाउँमा सहकारी संस्था खुलेकाले ती सहकारी संस्थाले आफ्ना सदस्यलाई कृषिमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।