• गृहपृष्ठ
  • ‘प्रदेश केन्द्रीय सचिवालय भवन’ निर्माण यसै वर्ष शुरु हुने

‘प्रदेश केन्द्रीय सचिवालय भवन’ निर्माण यसै वर्ष शुरु हुने

Feb 29th, 2020

सुर्खेत, १७ फागुन (रासस)

कर्णाली प्रदेश सरकारले सेवा प्रवाहलाई सहज र छरितो बनाउन सबै मन्त्रालयका भवन एउटै स्थानमा निर्माण गर्ने योजना अघि सारेको छ ।

सङ्घीय सरकारका अधिकांश मन्त्रालय सिंहदरबार परिसरमा भएजस्तै प्रदेश सरकारले पनि त्यही स्वरुपमा मन्त्रालयका भवन निर्माणको तयारी गरेको हो । तत्कालीन मध्यपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय रहेका भवनबाट हाल प्रदेश प्रशासन चलिहरेको छ । पुराना, साँघुरा र जीर्ण भवन हुनु, मन्त्रालय टाढाको दूरीमा रहँदा सेवाग्राहीलाई समस्या भएको प्रदेश सरकारको निष्कर्ष छ । यसको दीर्घकालीन समाधानका लागि एउटै हाताभित्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका साथै सबै मन्त्रालय रहने गरी भवन निर्माण गर्न लागिएको हो ।

भवन निर्माणका लागि पूर्वाधार विकास निर्देशनालयले गत आर्थिक वर्षमै विस्तृत परियोजना प्रतिवेदन ९डिपीआर० समेत तयार गरिसकेको थियो । ‘केन्द्रीय सचिवालय भवन निर्माण’ नाम दिइएको उक्त आयोजनाका लागि जग्गाको छनोट भइसकेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयको दक्षिणतर्फ रहेको दुई बिघा जग्गामा मन्त्रालयका भवन निर्माण हुनेछन् । सिंहदरबारकै स्वरुपमा एउटै हाताभित्र मन्त्रालयका भवन निर्माण गर्ने र चार वटा गेट राख्ने प्रदेश सरकारको योजना छ ।

पूर्वाधार विकास निर्देशनालयका निर्देशक वासुदेव पौडेलले प्रदेश सरकारको केन्द्रीय सचिवालयको भवन निर्माणका लागि चालू आर्थिक वर्षभित्रै टेण्डर आह्वान भई निर्माण शुरु हुने बताउनुभयो । यसका लागि प्रदेश सरकारले सुर्खेत उपत्यका नगर विकास समितिलाई जग्गा भोगचलनका लागि आग्रह गरेको छ । निर्देशक पौडेलले भोगचलन अनुमति पाइसकेपछि टेण्डर प्रक्रिया शुरु हुने बताउनुभयो । पहिलो चरणमा दुई वटा भवन निर्माण गरिनेछ । जसका लागि चालू आवमा रु २० करोड विनियोजन गरिएको छ । त्यसपछि क्रमशः अन्य मन्त्रायलका भवन निर्माण हुनेछन् । उक्त क्षेत्रमा भूमिगत पार्किङसहित चारतले भवन निर्माण गरिनेछ ।

निर्देशनालयका अनुसार डिपिआरमा एउटै भवनमा दुईवटा मन्त्रालय रहने प्रस्ताव गरिएको छ । चार वटा भवन निर्माणका लागि रु ५१ करोड ७६ लाख खर्च हुने अनुमान छ । जग्गाको स्वामित्व रहेको सुर्खेत उपत्यका नगर विकास समितिका अध्यक्ष वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले भोगचलनका लागि सङ्घीय सरकारको शहरी विकास मन्त्रालयसमक्ष अनुरोध गरिएको बताउनुभयो । सहरी विकास मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले जग्गा भोगचलनको निर्णय गरेपछि प्रदेश सरकारलाई भवन निर्माणको बाटो खुल्नेछ ।