• गृहपृष्ठ
  • अनेरास्ववियुका नेता गौतम र रेग्मीबीच प्रगतिशील विवाह

अनेरास्ववियुका नेता गौतम र रेग्मीबीच प्रगतिशील विवाह

Feb 28th, 2020

चिप्लेढुङ्गा, १६ फागुन (रासस)

अनेरास्ववियुका केन्द्रीय सदस्य शेखर गौतमले प्रगतिशील विवाह गर्नुभएको छ । विवाहका नाममा हुने भड्किलो खर्च रोक्दै उहाँले दाङकी सामना रेग्मीसँग आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीको कार्यालय शान्तिवनमा विवाह गर्नुभएको हो ।

बेहुला गौतमले लामो समयदेखि राजनीतिबाट सामाजिक रुपान्तरणका लागि लडेका अनुभव सुनाउँदै विवाहलाई भड्किलो नबनाएको बताउनुभयो । सामनासँग आफ्नो विचार मिलेकाले विवाह सम्भव भएको भन्दै उहाँले यो प्रगतिशील विवाहलाई जीवनको अनन्तकालसम्म सुन्दर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसैगरी दुलही सामनाले पनि भड्किलो खर्च विवाहमा आवश्यक नरहेको भन्दै शुभेच्छुक बीचको प्रगतिशील विवाह दुवैको रोजाइ भएकाले खुशी रहेको बताउनुभयो ।

विवाह समारोहमा खेलकूदमन्त्री जगत विश्वकर्माले उहाँहरुलाई वैवाहिक जीवनको शुभकामना दिँदै संस्कार र संस्कृतिका नाममा हुने भड्किला गतिविधिलाई सचेत युवाले रोक्न सक्नुपर्ने धारणा राख्नुभयो । विवाह एकअर्काको साथ र विश्वासले दिगो हुने भएकाले फजुल खर्च विवाहमा आवश्यक नरहेको उहाँले बताउनुभयो ।

नेकपा केन्द्रीय सदस्य एवं प्रदेश कमिटीका सचिव गोविन्द नेपालीले गौतम सामना समाजमा उदाहरणीय पात्र भएको भन्दै वैवाहिक जीवनको शुभकामना व्यक्त गर्नुभयो । गौतमका बुबा रुद्रनाथ गौतमले छोरा–बुहारीको खुशी नै आफ्नो खुशी भएकाले छोराको प्रगतिशील विवाहबाट आफू खुशी रहेको बताउनुभयो । सो वैवाहिक समारोहमा अनेरास्ववियुका केन्द्रीय संयोजक ऐनकुमार महर, नेकपा महानगरपालिका अध्यक्ष दीपक पौडेल लगायतले पार्टी नेता तथा कार्यकर्ता आफन्त शुभेच्छुकहरुले नवजोडीलाई वैवाहिक जीवनको शुभकामना दिनुभएको थियो ।