• गृहपृष्ठ
  • अनुसन्धानमा अग्रस्रर हुन विज्ञान र प्रविधि क्षेत्रका सङ्घसंस्थालाई आग्रह

अनुसन्धानमा अग्रस्रर हुन विज्ञान र प्रविधि क्षेत्रका सङ्घसंस्थालाई आग्रह

Feb 28th, 2020

बुटवल, १६ फागुन (रासस)

मुख्यमन्त्री शङ्कर पोखरेलले नेपालमा वैज्ञानिक आविष्कारको काम प्रभावकारी बन्न नसकेको बताउनुभएको छ ।

राष्ट्रिय युवा परिषद् र प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजनामा आजदेखि बुटवलमा शुरु भएको प्रदेशस्तरीय युवा वैज्ञानिक सम्मेलनमा उहाँले नेपालमा विगतमा विज्ञान र प्रविधि क्षेत्रमा अध्ययन नयाँ आविष्कारमा भन्दा जागिरे मानसिकतामा केन्द्रित रहेको तथा वैज्ञानिक आविष्कारका क्षेत्रमा नेपालभित्र उपलब्धि आउने गरी प्रयोग गर्न नसकिएको बताउनुभयो ।

उहाँले विज्ञान प्रविधिको शिक्षालाई जागिरका रूपमा मात्रै अङ्गीकार गरिएको र यसलाई आविष्कारका रूपमा प्रयोग गर्ने कुरा कमै मात्र भएको भन्दै मुलुक अब त्यस दिशातर्फ केन्द्रित हुनुपर्ने विषयमा छलफल, बहस र प्रयास भइरहेको जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, “विगतमा जे जति काम भए कानूनीरूपमा भए र गरिएका अनुसन्धान दराजमा मात्र थन्क्याउने काम भए, आर्थिक सामाजिक क्रियाकलापसँग यसलाई जोड्ने काम हुन सकेन ।”

मुख्यमन्त्री पोखरेलले वैज्ञानिक अध्ययन र अनुसन्धानका लागि राज्यका तर्फबाट खडा गरिएका संस्थाहरु प्रभावकारी ढङ्गले काम नगर्ने अवस्थामा रहको बताउनुभयो । त्यस्ता संस्था वैज्ञानिक आविष्कारका क्षेत्रमा प्रभावकारी कामको नेतृत्व गर्न सक्ने अवस्थामा नरहेको उहाँको भनाइ थियो ।

प्रदेश सरकारका सामाजिक विकासमन्त्री सुदर्शन बरालले विज्ञान विषय पढाउनेतर्फ प्रदेश सरकार अगाडि बढेको बताउनुभयो । प्रदेशमा हाल स्नातकोत्तर गरेका ४३ हजार विद्यार्थी रहेकामा विज्ञान प्रविधि पढ्ने जम्मा चार हजार ६०० मात्र रहेको जानकारी दिनुभयो ।

सम्मेलनमा प्रदेशका १२ जिल्लाबाट दुई/दुई जना र अन्य विज्ञान तथा प्रविधि क्षेत्रमा प्राध्यापन गर्ने विद्वानहरु, नीति निर्माणका क्षेत्रमा रहेका उच्च तहका व्यक्तिहरु गरी ३०० जनाको सहभागिता रहेको सम्मेलन आयोजक समितिका संयोजक डा कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।

सम्मेलनमा मुख्य वक्ताका रूपमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष तथा म्यागासेसे पुरस्कार प्राप्त गरेका राष्ट्रिय अनुसन्धान केन्द्रका वैज्ञानिक महावीर पुनलगायतले आफ्नो प्रस्तुति दिनुभएको छ । सम्मेलनमा विज्ञान प्रविधिसम्बन्धी नीतिगत बहसका साथै प्रदेश नं ५ मा विज्ञान तथा प्रविधिको विकास र अबको बाटो, समकालीन विश्वमा विज्ञान तथा प्रविधि एंव अनुसन्धानको विकास तथा प्रवृत्ति, नवप्रवद्र्धन तथा उद्धमशीलताको विकासमा प्रविधिको प्रयोगलगायतका विषयमा आज र भोलि दुई दिनसम्म छलफल हुने बताइएको छ ।

यसका साथै प्रदेशमा युवा वैज्ञानिकले गरेका विभिन्न अनुसन्धानको प्रस्तुति र विकास गरेका प्रविधिहरु प्रदर्शन राखिएका छन् ।