विषादीबारे सचेतना कार्यक्रम

Feb 28th, 2020

काभ्रेपलाञ्चोक, १६ फागुन (रासस)

तरकारी तथा अन्य बालीमा विषादी प्रयोग न्यूनीकरण गर्न पाँचखाल नगरपालिकास्थित माध्यमिक विद्यालयका विद्यार्थीलाई यस वर्र्ष पहिलो चरणको सचेतना कार्यक्रम गरिएको छ ।

विद्यालय तहदेखिनै विषादीबारे जानकारी, प्रयोग तथा असरबारे जानकारी गराउँदा निकट भविष्यमा विषादी न्यूनीकरणमा ठूलो मद्दत पुग्ने अपेक्षासहित सचेतना सञ्चालन गरिएको हो । अनाधिकृत विषादी प्रयोग गर्दा मानव स्वास्थ्य, कृषि पर्यावरण प्रणाली तथा वातावरणमा पर्ने असरबारे सचेतना गराइएको हो ।

लवग्रीन नेपालले १२ सामुदायिक तथा छ निजी विद्यालयका मावि तहका विद्यार्थीलाई कक्षामै विषादीको असरबारे भिडियो, अडियो तथा अन्य प्रस्तुतिबाट जानकारी गराएको हो । पाँचखालमा सामुदायिक १३ र निजी सात माध्यमिक विद्यालय छन् ।

एउटा विद्यालयमा वर्र्षमा तीन पटकसम्म सचेतना कार्यक्रम सञ्चालन गरिने योजना बनाइएको संस्थाका कार्यकारी निर्देशक नारायण ज्ञवालीले बताउनुभयो । “विद्यालय तहदेखिनै विषादीबारे सचेत गराउँदा निकट भविष्यमै विषादी न्यूनीकरणमा मद्दत पुग्ने उद्देश्यले अभियान सञ्चालन ग¥यौँ”, उहाँले भन्नुभयो । पाँचखाल क्षेत्र तथा भारतको केरला राज्यमा केही वर्र्षअघिसम्म अनाधिकृत विषादी प्रयोगबाट परेको असर तथा हाल न्यूनीकरणपछिको अवस्थाबारे भिडियो, अडियो र डकुमेन्ट्रीमार्फत विद्यार्थीलाई जानकारी गराइएको हो ।

पाँचखाल नपा–६ नभप्रतिभा माविका प्रधानाध्यापक सरोज न्यौपानेले विषादीबारे विद्यार्थीमा सचेतना कार्यक्रम प्रभावकारी देखिएको बताउनुभयो । “विद्यार्थीले लिएका जानकारी परिवार र समुदायमा सिकाउँछन्, यसबाट विषादी न्यूनीकरणमा ठूलो टेवा पुग्ने देखिन्छ”, उहाँले भन्नुभयो ।

यसैगरी, उक्त संस्थाले वातावरणमैत्री एकीकृत दिगो विकास परियोजनाअन्तर्गत पाँचखाल क्षेत्रका कृषकलाई विगत दुई वर्र्षदेखि तरकारीमा विषादी तथा रासायनिक मल न्यूनीकरण गर्न स्थानीय अगुवा कृषकका लागि तीन महिने २२ एकीकृत शत्रुजीव व्यवस्थान प्रविधि (आइपिएम) कृषक पाठशाला सञ्चालन गर्दै आएको छ । जसमा ६६२ अगुवा कृषक लाभान्वित भएको जनाइएको छ ।

यसैबीच, सरकारी तथा निजीस्तरबाट सञ्चालित विभिन्न सचेतना कार्यक्रमले पाँचखालमा विषादी प्रयोग कम हुँदै गएको तथ्याङ्कले देखाएको छ । पाँचखाल क्षेत्रमा उत्पादित विभिन्न किसिमका तरकारीमा विषादीको अवशेषको मात्र परीक्षण गर्दा खानयोग्यभन्दा पनि कम विषादीको रुकावट प्रतिशत (इमिसन रेट) भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।

केन्द्र प्रमुख डा जनार्दन खड्काले प्रयोगशाला (रेपिड बायो एसे पेस्टिसाइड रेजिड्यू–आरबीपीआर ल्याब)मा सङ्कलित नमूनाको विषादी रुकावट अवशेष परीक्षण÷मापन गर्दा सुरक्षित मापदण्डभित्रै रहेको बताउनुभयो । उहाँका अनुसार गत भदौ अन्तिम साता तरकारीमा विषादीको रुकावट प्रतिशत तीनदेखि नौ प्रतिशतसम्म झरेको थियो भने हाल १० देखि २० इमिसन रेटसम्मका तरकारी उत्पादन भइरहेका छन् ।

वाग्मती प्रदशेको विषादी अवशेष द्रुत विश्लेषण कार्यविधि, २०७५ ले ३५ देखि ४५ प्रतिशतसम्म देखिएमा चार–पाँच दिन क्वारेन्टाइनमा राखेर पुनःपरीक्षणमा ३५ प्रतिशतभन्दा कम नतिजा आएमा खानयोग्य हुने र ४५ प्रतिशतभन्दा बढी ‘इन्हिविसन’ आएमा उक्ति कृषिउपजलाई खान अयोग्य मानेर नष्ट गर्नुपर्ने उल्लेख गरिएको छ । प्रदेशस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले काभ्रेपलाञ्चोसहित चितवन, मकवानपुर, ललितपुर र नुवाकोट जिल्लामा आरबीपीआर ल्याब स्थापना गरेको छ ।