• गृहपृष्ठ
  • राष्ट्रियसभामा गौतम सिफारिस हुनुहुन्छ : अध्यक्ष दाहाल

राष्ट्रियसभामा गौतम सिफारिस हुनुहुन्छ : अध्यक्ष दाहाल

Feb 28th, 2020

चितवन, १६ फागुन (रासस)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभामा पार्टीका उपाध्यक्ष वामदेव गौतम नै मनोनीत हुने बताउनुभएको छ । प्रेस सङ्गठन चितवनले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले प्रधानमन्त्रीले गौतमलाई नै सिफारिस गर्ने बताउनुभयो ।

पत्रकारको प्रश्नमा उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले सिफारिस नगर्ने कुरा म कल्पनासम्म पनि गर्दिन, उहाँले गर्नुहुन्छ । मैले त्यति बुझेको हो ।” प्रधानमन्त्रीले गौतमलाई सिफारिस गर्नुभएन भने के हुन्छ भन्ने अर्को प्रश्नमा उहाँको जवाफ थियो, “म अहिले त्यतातिर जानै चाहन्न । मलाई विश्वास छ, उहाँले पार्टीको सचिवालय बैठकले सर्वसम्मत गरेको निर्णयलाई अवज्ञा गर्नुहुने छैन ।”

आफू र प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीको संयुक्त अध्यक्षतामा बसेको सचिवालय बैठकले सर्वसम्मतरुपमा गौतमलाई सिफारिस गर्ने निर्णय गरेको दाहालको भनाइ थियो । अर्थमन्त्री हुनका लागि राष्ट्रियसभामा जानैपर्छ भन्ने नभएको बताउँदै उहाँले छ महिनासम्म सांसद नभएको व्यक्ति पनि मन्त्री हुनसक्ने उल्लेख गर्नुभयो ।

संविधान संशोधन गरेर प्रधानमन्त्री हुने भए मात्र राष्ट्रियसभामा जाने उपाध्यक्ष गौतमको शर्त भने गएको सचिवालय बैठकबाट हटेको दाहालको भनाइ थियो । उहाँले संविधान संशोधन एउटा प्रक्रियामा अघि बढ्ने जानकारी पनि दिनुभयो ।

उपाध्यक्ष गौतम सिफारिसका लागि व्यवसायीसँग बैठक बसेको भन्ने भनाइ कपोलकल्पित मात्र भएको उहाँले बताउनुभयो । दाहालले भन्नुभयो, “त्यो नियोजित, भ्रामक र कपोकलल्पित छ । त्यस्तो कहीँ बैठक वा डिनर भएको कसैले प्रमाणित गरिदियो भने म त्यसलाई बधाई भन्छु ।” प्रत्यक्ष निर्वाचनमा पराजित व्यक्ति मनोनीत भएको प्रशस्त उदाहरण भएको बताउँदै उहाँले मैले ल्याएर केके गरँे भन्ने तपाईँहरुलाई थाहा नै छ नि भन्नुभयो । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति र नेतासँग भएको भेट सामान्य राजनीतिक प्रक्रिया मात्र भएको उहाँले टिप्पणी गर्नुभयो ।