सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु

Feb 28th, 2020

काठमाडौं, १६ फागुन

मकवानपुर, सप्तरी, नवलपरासी(पूर्व), दाङ र बाराका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ चुरियामाईस्थित सडकमा ना.४३ प १५१७ नम्बरको मोटरसाइकललाई ना.४६ प २८११ नम्बरको मोटरसाइकलले बिहीबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका ना.४३ प १५१७ नम्बरका मोटरसाइकल चालक पर्सा वीरगंज महानगरपालिका-२३ बस्ने ३० वर्षीय अफताव आलम अन्सारीको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटना घाइते भएका दुबै मोटरसाइकलमा सवार अन्य तीन जनालाई उपचारका लागि हेटौंडा अस्पताल र चुरेहिल अस्पतालतर्फ पठाइएको छ ।

सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-३ पोर्ताहास्थित सडकमा ज.१ त ६६४४ नम्बरको ट्याक्टरले ना.११ प १७०४ नम्बरको मोटरसाइकललाई बिहीबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही ठाँउ बस्ने २० वर्षीय बिनोद खरहरीको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार हनुमाननगर कंकालिनी नगरपालिका-३ बस्ने २१ वर्षीय सलेन्द्र खरहरीको न्यूरो अस्पताल बिराटनगरमा उपचार भइहेको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

नवलपरासी(पूर्व), देबचुली नगरपालिका-१३ कैलाश चोक नजिक भित्री सडकमा लु.३ त ४८३३ नम्बरको ट्याक्टर र ना.५५ प ३१६४ नम्बरको मोटरसाइकल एक-आपसमा ठक्कर खाई बिहीबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक गैडाकोट नगरपालिका-१५ बस्ने २१ वर्षीय दिनेश गुरुङको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार गैडाकोट नगरपालिका-१५ बस्ने १९ वर्षीय प्रितम गुरुङको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाङ, दंगिशरण गाउँपालिका-५ बागर खोला नजिकै रा.५ प १२७० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका-८ अस्वार बस्ने १९ वर्षीय गौरव डाँगीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङ हुँदै थप उपचारको लागि मेडिकल कलेज कोहलपुर बाँकेतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

बारा, कलैया उपमहानगरपालिका-१ भरत चोकस्थित सडकमा हाल नम्बर नखुलेको गाडीको ठक्करबाट गम्भीर घाइते भएका हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरुषको जिल्ला अस्पताल कलैयामा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको छ । ठक्कर दिने गाडी तथा चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।