• गृहपृष्ठ
  • पारमाणविक विधेयकमाथि विस्तृत छलफल गर्न सांसदको माग

पारमाणविक विधेयकमाथि विस्तृत छलफल गर्न सांसदको माग

Feb 27th, 2020

काठमाडौँ, १५ फागुन (रासस)

राष्ट्रियसभाका सांसदहरुले पारमाणविक विधेयकमाथि विस्तृत छलफल गरेर मात्र अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘पारमाणविक विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रस्ताव सर्वसम्मतिले स्वीकृत भयो ।

प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद रामनारायण बिडारीले सबै कुरा मन्त्रीलाई थाहा नहुने भए पनि विधेयकमा विज्ञानका सबै कुरा थाहा भए जसरी आएकाले समस्या हुन सक्नेतर्फ ध्यानाकर्षण गराउनुभयो । विधेयक बुझ्नै अप्ठ्यारो खालको भएकाले जनताले यो विषयलाई कसरी जान्दछन् भनी उहाँले प्रश्न राख्नुभयो ।

सांसद प्रकाश पन्थले आणविक भट्टीसमेत खोल्ने विषय नेपालका लागि आवश्यक हो कि होइन, यो गर्न सक्षम छ कि छैन भन्ने अध्ययन हुनुपर्ने बताउनुभयो । यसबाट फाइदा कम र बेफाइदा बढी भएको उहाँको भनाइ थियो । यो विषयमा हतार नगरी विस्तृतमा छलफल हुनुपर्ने विचार पनि सांसद पन्थले राख्नुभयो ।

सांसद वृशेषचन्द्र लालले नेपाल आणविक युगमा प्रवेश गरेको सन्देश विधेयकले दिएको बताउनुभयो । आणविक युगमा देश प्रवेश ग¥यो भन्ने देखाउनकै लागि विधेयक आएको हुनसक्ने उहाँको तर्क थियो । दोस्रो विश्वयुद्धका बेला हिरोसिमा र नागासाकीमा पारमाणविक पदार्थकै कारण दुर्घटना भएकाले सोचविचार गरिनुपर्नेतर्फ उहाँले ध्यानाकर्षण गराउनुभयो । जर्मनीमा पारमाणविक पदार्थको व्यवस्थापनका लागि वार्षिक चार मिलियन डलर खर्च भइरको सुनाउनुुहुँदै त्यो क्षमता नेपालमा छ भनी सांसद लालले प्रश्न गर्नुभयो ।

आणविक ऊर्जासम्बन्धी विषय शक्ति राष्ट्रको खेलले आएको बताउनुहुँदै उहाँले यो विधेयकमा थप छलफल आवश्यक रहेकामा जोड दिनुभयो । सांसद डा विमला राई पौडेलले चिकित्सा विज्ञान, अध्ययन अनुसन्धानमा पारमाणविक पदार्थ प्रयोग हुने गरेको उल्लेख गर्नुहुँदै देशमा भएको पदार्थ उत्खनन गर्न अनुमति दिन उपयोग गर्न सकिए राम्रो हुने बताउनुभयो ।

सांसद कोमल वलीले सन् १९३० देखि नै पारमाणविक पदार्थ प्रयोग हुन थाले पनि कानून नबनेको बताउनुभयो । विज्ञानका क्षेत्रमा खोज अनुसन्धानका लागि विधेयक आवश्यक रहेको उहाँको भनाइ थियो । सांसदहरुले उठाउनुभएका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले विधेयकको तेस्रोपटक मस्यौदा गरिएको बताउनुभयो । विधेयक देशका लागि आवश्यक भएकाले नै ल्याइएको उहाँले सुनाउनुभयो । नेपालमा १२५ वर्षअघि यो प्रविधि भित्रिएको थियो । सन् १९२३ मा नेपालमा पहिलोपटक एक्सरे यन्त्र आएको उल्लेख गर्नुहुँदै मन्त्री पोखरेलले प्रतिनिधिसभामा पनि विधेयकका बारेमा विस्तृत छलफल भएको बताउनुभयो ।

नेपालमा प्रशस्त युरेनियम भएको अध्ययनबाट देखिएकाले जनशक्ति उत्पादनलाई विधेयक आवश्यक भएको जानकारी मन्त्री पोखरेलले गराउनुभयो । देशमा विस्तृत अध्ययन अनुसन्धानका लागि विधेयक आवश्यक रहेको उहाँको भनाइ थियो । विकिरण प्रभाव मूल्याङ्कन गरी व्यवस्थित गर्न पनि यसको आवश्यकता रहेको जनाइएको छ । बैठकमा मन्त्री पोखरेलले नै गृहमन्त्री रामबहादुर थापाका तर्फबाट ‘अध्यागमन विधेयक, २०७६’ लाई सभासमक्ष पेश गर्नुभएको थियो ।