• गृहपृष्ठ
  • राष्ट्रियसभामा दोहोरीः ललिता निवास र अडियो प्रकरणको छानबिन माग

राष्ट्रियसभामा दोहोरीः ललिता निवास र अडियो प्रकरणको छानबिन माग

Feb 27th, 2020

काठमाडौँ, १५ फागुन (रासस)

राष्ट्रियसभाको विशेष समयमा सत्ता र प्रमुख प्रतिपक्षी दलका सांसदबीच सरकारको कामका विषयलाई लिएर दोहोरी चलेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का खिमलाल भट्टराईले पार्टीभित्रको समस्या समाधान हुनुपर्नेमा ध्यानाकर्षण गराउँदै ललिता निवास प्रकरणमा गहिराइमा पुगेर छानबिन गरिनुपर्ने माग गर्नुभयो ।

प्रदेशमा समेत प्रतिवर्ष ६ प्रतिशतभन्दा माथि आर्थिक वृद्धिदर भइरहेकाले देश विकास र समृद्धिमा अघि बढिरहेको उहाँको भनाइ थियो । पूर्वाधार विकासमा समेत फड्को मारेको र सरकार समृद्धिको दिशामा अघि बढेको उहाँले जिकिर गर्नुभयो ।

पोखरा र निजगढ विमानस्थलको काम अघि बढेको तथा कृषि, शिक्षा र स्वास्थ्यको कामसमेत असाध्य गतिका साथ लम्केको उहाँको भनाइ थियो । सत्तापक्षका सांसद लगत्तै बोल्नुभएका प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका बद्रीप्रसाद पाण्डेले भट्टराईप्रति लक्ष्य गर्दै अर्थमन्त्री पद रिक्त हुन लागेकाले बजेट भाषणको तयारी गरेको हो कि भनी व्यङ्ग्य गर्नुभयो ।

राष्ट्रियसभालाई भारदारीसभामा परिणत नगर्न पनि उहाँले सुझाव दिनुभयो । तथ्याङ्कलाई मिथ्याङ्कले छोप्न खोजिएको को सांसद पाण्डेको आरोप थियो । “ पार्टीभित्र अडियो काण्डको छानबिन गर्न प्रधानमन्त्रीले रोक्नुभएको छ, त्यसका पछि प्रधानमन्त्री नै रहेको चर्चा बाहिर भइरहेको छ”, सांसद पाण्डेले भन्नुभयो । सांसद मुक्ताकुमारी यादवले अडियो काण्डका पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई बचाउन सरकार लागिपरेको आरोप लगाउँदै सो प्रकरणको निष्पक्ष छानबिन गर्न माग गर्नुभयो ।

सांसद विना पोखरेलले सुत्केरीलाई भारतमा २६ महीनाको बिदा दिइने व्यवस्था भएको र अन्य देशमा त्यसभन्दा बढी बिदा दिने गरिएकाले नेपालमा पनि छ महीनादेखि बढाउनुपर्ने व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद रमेशप्रसाद यादवले पर्यावरण बिग्रँदै गएकाले संरक्षणका लागि काम हुन नसकेको तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद यूटोल तामाङले ल्होसारमा सार्वजनिक बिदा काटिएको गुनासो गर्दै जनजाति बसोबास गरेको स्थानमा स्वायत्त क्षेत्र घोषणा गरिनुपर्ने माग गर्नुभयो । धेरै पर्यटकीयस्थल कर्णाली प्रदेशमा रहेकाले त्यसको प्रचारप्रसार गरिनुपर्नेमा पनि उहाँको जोड थियो ।

सांसद कमलाकुमारी ओलीले संसदीय समितिको अनुगमनका क्रममा स्थानीय तहमा उपप्रमुखका गुनासो धेरै पाइएकाले न्यायिक समितिको समेत नेतृत्व गर्ने उपप्रमुखलाई कानूनी सल्लाहकारको व्यवस्था गरिदिनुपर्ने माग गर्नुभयो ।

सांसद रमेशजङ्ग रायमाझीले रु ७० करोडको सेक्युरिटी प्रेस काण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिन गर्ने बाटो खोलिदिनुपर्ने बताउनुभयो । सांसद खेमराज नेपालीले बताउनुभयो । नेपाली सेना र नेपाल प्रहरीले बजाएको पुरानो धुन परिवर्तन गर्न माग गर्नुभयो ।

कोभिड–१९ विरुद्ध लड्न माग

सांसदले नेपाल कोराना भाइरसको उच्च जोखिममा रहेकाले तयारी गर्न र त्यससम्बन्धी जानकारी संसदमा गराउन माग गर्नुभएको छ । सभाको आजको बैठकको शून्य समयमा विमला पौडेलले ३४ देशमा कोभिड–१९ फैलिइसकेको र चीनको छिमेकमा रहेको नेपाल सङ्क्रमणको उच्च जोखिममा रहेको उल्लेख गर्दै त्यसबारे तयारी के भइरहेको छ भन्नेबारे संसद्लाई जानकारी गराउन माग गर्नुभयो ।

सांसद शेरबहादुर कुँवरले कोभिड–१९ फैलिन नदिन प्राथमिकताका साथ तयारी गर्न सुझाव दिनुभयो । धेरै नेपाली रोजगारीका लागि गएको दक्षिण कोरियामा समेत भाइरहस फैलिएकाले विशेष तयारी गरिनुपर्ने सांसदको भनाइ थियो ।

सांसद रामनारायण बिडारीले उद्योग बेचेर खाने चलन बस्दा रोजगारीलगायतमा समस्या परिरहेका बेला हेटौँडाको माछापोखरी नाशिन लागेको भनी बचाउन माग गर्नुभयो ।

सांसद विन्दादेवी आले रानाले उपभोग्य वस्तुको मूल्य ४८ प्रतिशतसम्म वृद्धि हुँदा काम गरेर छाक टार्नेका जीवन धान्न मुश्किल भएको बताउनुभयो । एउटै सामानका मूल्य पसलपिच्छे फरक हुँदा पनि सरोकार निकाय मौन बस्नाको रहस्य के हो भनी प्रश्न गर्नुभयो । सांसद हरिराम चौधरीले माध्यमिक शिक्षा निःशुल्क घोषणा गरिए पनि सामुदायिक विद्यालयमा शिक्षकको व्यवस्था हुन नसकेकाले कहिले पूरा हुन्छ भनी जिज्ञासा राख्नुभयो ।