• गृहपृष्ठ
  • रवीन्द्रलाई सम्झँदै आठराई : ‘न भुल्न मिल्ने, न सम्झनै मन लाग्ने’

रवीन्द्रलाई सम्झँदै आठराई : ‘न भुल्न मिल्ने, न सम्झनै मन लाग्ने’

Feb 27th, 2020

– रवीन्द्र काफ्ले
फिदिम, १५ फागुन (रासस)

पटक–पटक आश्वासन पाएपनि विमानस्थल निर्माण हुने सङ्केतसम्म नपाउँदा तेह्रथुम आठराई गाउँपालिकावासी निराश बनेका थिए । “अरुले भन्थे आठराई त प्रधानमन्त्रीको जन्मथलो हो, विमानस्थल नबन्ने कुरै छैन”, चुहानडाँडा विमानस्थल निर्माण सरोकार समितिका सचिव रामचन्द्र थपलिया सम्झनुहुन्छ, “तर हामी भने आजित थियौँ ।”

आर्थिक वर्ष २०७५/७६ को बजेटमा सरकारले विमानस्थल बनाउन सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० लाई बजेट छुट्याएपछि स्थानीयवासीमा आशा पलायो ।

विसं २०७५ फागुन १५ गते तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी विमानस्थल निर्माण गर्न लागिएको चुहानडाँडा आउनुभयो । उहाँलाई विमानस्थल निर्माण समितिका अध्यक्ष एवं प्रदेशसभा सदस्य तेजमान कन्दङ्वा, गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बूलगायतले स्वागत गर्नुभयो । हँसिलो मुद्रामा उपस्थित अधिकारीले आफूहरु कुरा गर्न नभई निर्माणअघि बढाउन आएको सुनाउनुभयो । उहाँले प्रधानमन्त्रीले चुहानडाँडा विमानस्थलको निर्माणबारे विस्तृत अध्ययन गर्न लगाउनुभएको स्मरण गर्दै भन्नुभयो, “हामीले अध्ययन गरिसकेको बताएपछि प्रधानमन्त्रीले एकपटक पर्यटनमन्त्री आफैँ गएर हेरेर आउनु भन्नुभएकाले स्थलगत अध्ययनलाई आएका हौँ ।” सबै हिसाबले चुहानडाँडा विमानस्थल बनाउन उपयुक्त भएको र सरकारको प्रतिबद्धता रहेको उहाँको भनाइ थियो ।

अधिकारीले सम्बोधनको बीचैमा भन्नुभएको थियो “पानी परेको छ, मौसम खराब भएकाले फर्कनुपर्नेछ ।” उहाँले देशैभर आवश्यकताका आधारमा विमानस्थल निर्माण र अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा रुपान्तरण गरिने बताउनुभएको थियो ।

विमानस्थल निर्माणको आशामा रमाइरहेका आठराइवासीको खुशी एक घण्टा पनि टिकेन । विमानस्थल अनुगमनलाई आउनुभएका अधिकारीको ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भयो । चुहानडाँडा विमानस्थल निर्माण क्षेत्रको अनुगमन तथा कार्यक्रम अधिकारीको अन्तिम रह्यो । “हामी त खुशीले रमाइरहेका थियौँ । तर हामीलाई खुशी तुल्याउन आउनुभएका मन्त्री अधिकारीको सोही दिन निधन भयो”, सरोकार समितिका थपलियाले भन्नुभयो, “अब, न भुल्न मिल्छ, न त त्यो दुखद् दिन सम्झन मन लाग्छ ।”

अधिकारीसँगको साक्षात्कार र क्षणभरमै सुनिएको दुर्घटनाको खबरले लामो समय दिग्भ्रमित तुल्याएको तेह्रथुम बहुमुखी क्याम्पसका प्राध्यापक गोविन्द सुवेदीको भनाइ छ । “समृद्ध नेपाल निर्माणको दृढ इच्छाशक्ति बोकेको युवा नेतृत्वलाई गुमाएको अनुभूति भइरहेको छ”, सुवेदीले भन्नुभयो ।

अरु पूर्वाधार निर्माणपछि विमानस्थल बन्न लागेको होइन, यहाँ । बरु विमानस्थल बन्ने सुनिश्चितताले यो सुन्दर पहाडको पुनर्जीवनमा आशा पलाएको थियो । सदरमुकाम म्याङलुङबाट ६५ किलोमिटर दूरीको यो दुर्गम गाउँपालिका मध्यपहाडी लोकमार्ग निर्माणपछि छिमेकी जिल्ला पाँचथरसँग कालोपत्र सडकले जोडिएको थियो । पछिल्लोपटक चुहानडाँडामा विमानस्थल बनाउन डिपिआर तयार भएर वातावरणीय प्रभाव मूल्याङ्कनको काम बढेको छ । विमानस्थल बनाउन चालू आवमा रु २५ करोड बजेट छुट्टिएको छ ।

चार महिनाअघि यहाँ आइपुग्नुभएका संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई चाँडै चुहानडाँडा विमानस्थल निर्माण गर्नुपर्ने दबाब रहेको वताउनुभयो । “प्रिय मित्र रवीन्द्रको निधनले पनि यो विमानस्थल निर्माण चाँडो थालेर सक्नुपर्ने दबाब छ”, भट्टराईले भन्नुभयो, “विमानस्थल बनाएर उहाँको सपना पूरा गर्नुछ ।”

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार आव २०७३÷७४ मा विमानस्थलको डिपीआर तयार भएको छ । प्रतिवेदनमा ९२७ मिटर लम्बाइको धावनमार्ग निर्माण गर्न ४४८ रोपनी जग्गा र रु ८५ करोडको लागत आवश्यक हुने उल्लेख छ । विमानस्थल बनाउँदा १४ घर परिवार विस्थापित हुनेछ ।

पुनर्जीवनको अपेक्षा

केपी शर्मा ओली प्रधानमन्त्री चयन भएपछि आठराई उहाँको पुख्र्यौली थलोको रुपमा चर्चामा आयो । उहाँबाहेक सीपी मैनाली, कृष्णप्रसाद सिटौला, राधाकृष्ण मैनालीको पुख्र्यौली थलो भएकाले आठराई चर्चामै छ । पूर्वी पहाडमा सामाजिक, राजनीतिक परिवर्तनको अगुवाइ गरेको आठराई क्षेत्र विकास र स्थानीयवासीको आर्थिक परिवर्तनका दृष्टिले पछि छ । गाउँपालिकाका चुहानडाँडा, छातेढुङ्गा, थोक्लुङलगायत स्थानमा विद्युत्, खानेपानी, सिँचाइलगायतको अभाव छ । प्रशासनिक कामकाज विसं २०७३ बाट यहाँको सक्रान्तिबजारमा रहेको इलाका प्रशासन कार्यालयबाट हुन शुरु भए पनि न्यूनतम पूर्वाधारको अभावमा स्थानीयवासी बसाइँ सर्ने क्रम अझै रोकिएको छैन । यहाँको पूर्वी पहाडकै अग्रणी शैक्षिक संस्था तेह्रथुम बहुमुखी क्याम्पसमा विद्यार्थीको सङ्ख्या घट्दो छ ।

विमानस्थल बने आठराईको मुहार फेरिने गाँउपालिकाका उपाध्यक्ष रुपा कन्दङ्वाको विश्वास छ । “विमानस्थलले अरु पूर्वाधारको सुनिश्चितता र व्यापारिक चहलपहल बढ्ने अपेक्षा छ”, उहाँले भन्नुभयो । स्थानीयवासी कृष्णप्रसाद ओली विमानस्थल निर्माणले आठराईले बाहिर चर्चा भएजस्तै स्थानमा पु¥याउने विश्वास ब्यक्त गर्दै चाँडो निर्माणकार्य शुरु हुनुपर्नेमा जोड दिनुहुन्छ ।

तीन जिल्लावासीले लिन सक्छन् फाइदा

आठराईमा विमानस्थल निर्माण भए तेह्रथुमका अतिरिक्त पाँचथर र ताप्लेजुङका स्थानीयले लाभ लिन सक्छन् । पाँचथर सदरमुकाम फिदिमबाट यहाँ पुग्न करिब ४५ मिनेट लाग्दछ । कालोपत्र सडक निर्माण भएपछि तेह्रथुमको म्याङलुङबाट करीब डेढ घण्टामा आठराई पुगिनेछ । निर्माणाधीन तमोर कोरिडोर पूर्ण भएपछि ताप्लेजुङ सदरमुकाम फुङलिङबाट करिब डेढ घण्टामा पुगिनेछ । तीन जिल्लाको केन्द्रविन्दुमा रहेकाले आठराई विमानस्थल निर्माण हुनेमा शङ्का नरहेको भन्दै मन्त्री भट्टराईले स्थानीयवासीलाई आश्वस्त तुल्याउनुभएको थियो ।