• गृहपृष्ठ
  • मापदण्ड पूरा नगर्ने यी सिमेन्ट तथा स्टील कम्पनी परे विभागको कारबाहीमा

मापदण्ड पूरा नगर्ने यी सिमेन्ट तथा स्टील कम्पनी परे विभागको कारबाहीमा

Feb 27th, 2020

आधारभूमी संवाददाता

काठमाडौं १५ फागुन

नेपाल गुणस्तर तथा नापतौल विभागले तोकिएको मापदण्डअनुसारको गुणस्तर कायम नगर्ने ४ कम्पनीलाई कारवाही गर्ने भएको छ । विभागले ३ सिमेन्ट कम्पनी र १ स्टील कम्पनी विरुद्ध कारबाही गर्ने भएको हो ।

तोकिएको गुणस्तर पालना नगरेका कारण कारवाहीमा पर्ने सिमेन्ट तथा स्टील कम्पनीमा सालिमार सिमेन्ट, रिलायन्स सुपरटेक सिमेन्ट, एमजेप्पी सिमेन्ट र अशोक स्टिल रहेका छन् । विभागले गरेको बजार अनुगमनका क्रममा ति कम्पनीले तोकिएको गुणस्तरको मापदण्ड पूरा नगरेको पाइएकोले कारबाही प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ ।

कारवाहीस्वरूप अशोक स्टिलको इजाजत पत्र रद्द गरिएको छ भने सालिमार र रिलायन्स सुपरटेक सिमेन्टको इजाजत पत्र स्थगन गरिएको तथा एमजेप्पी सिमेन्टलाई स्पष्टीकरण सोधिएको विभागले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

विभागले एक विज्ञप्ती जारी गर्दै विभागबाट विभिन्न मिति र स्थानमा गरिएको बजार अनुगमनबाट संकलित नमूनाहरू विभागको प्रयोगशालामा परीक्षण गराउँदा प्राप्त परीक्षण नतिजा नेपाल गुणस्तर अनुरूप नपाइएकाले नेपाल गुणस्तर (प्रमाण चिन्ह) ऐन, २०३७ तथा नियमावली २०४० को नियम १६ अनुसारको कानूनी कारबाही प्रक्रिया अगाडि बढाइएको वताएको हो ।

विभागका अनुसार बारामा रहेको नेपाल शालिमार सिमेन्टको संकलित नमुनाको तीन दिनको कम्प्रेसिभ स्ट्रेन्ज्थ १५ एमपीए र नेपाल गुणस्तर ३८५ अनुरुप नभएपछि शालिमारको इजाजतपत्र रद्द गरिएको छ । यसैगरी, बारामा नै रहेको रिलाइस सुपरटेक सिमेन्टको पनि नेपाल गुणस्तरअनुरूप नभएपछि इजाजतपत्र रद्द गरिएको छ ।

त्यस्तै कपिलवस्तुमा रहेको एमजेप्पी सिमेन्टको पनि नेपाल गुणस्तर ३८५ अनुरूप नपाइएको कारण स्पष्टीकरण सोधिएको विभागले जनाएको छ । बाराको अशोक स्टिलको पनि इजाजतपत्र रद्द गरिदिएको छ । संकलित नमुनाको इलोगेसन र बेन्ड टेस्ट नेपाल गुणस्तर १९१ अनुरूप नभएकाले इजाजतपत्र रद्द गरिदिएको छ ।

कति छ सिमेन्टको ग्रेड ?

नेपालमा उत्पादन भएका पोर्टल्याण्ड सिमेन्टहरुले अहिले ३३ ग्रेडको मात्रै मान्यता पाउँदै आएका छन् । तर अव सो ग्रेडमा परिमार्जन गरिएको छ ।

नेपाल गुणस्तर तथा नापतौल विभाग अन्तर्गतको प्राविधिक समितिले गुणस्तरीय सिमेन्टलाई ४३ ग्रेड र ५३ ग्रेडको समेत मान्यता दिने सिफारिस गरेपछि सिमेन्टले नयाँ ग्रेड पाउने भएका हुन् । गतसाता बसेको नेपाल गुणस्तर परिषद्को बैठकले समितिको सिफारिस बमोजिम नर्या ग्रेड दिने निर्णय गरेको हो ।

अहिले उत्पादन भइरहेका नेपाली सिमेन्टहरु ३३ ग्रेडभन्दा उच्च गुणस्तरयुक्त भए पनि कानूनी प्रावधानका कारण सोभन्दा बढी ग्रेड दिन कानूनी अवरोध थियो । अब भने गुणस्तर पुगेका सिमेन्टहरुले नयाँ गुणस्तर परीक्षण गराई नयाँ ग्रेडको मान्यता लिन सक्ने बताइएको छ ।

३३ ग्रेडको सिमेन्ट अहिले न्यून गुणस्तरयुक्त हुने भएकोले अहिले अधिकांश कम्पनीले यस्तो सिमेन्ट उत्पादन गर्न छोडिसकेका छन् । ५३ ग्रेडको सिमेन्ट धेरै तापक्रम सहनसक्ने र बढी भार थेग्नसक्ने र ठूला कम्पनहरु पनि सहन गर्नसक्ने प्रकृतिको हुने इन्जीनियरहरु बताउँछन् ।

यो सामान्यतया उद्योगका चिम्नीहरु बनाउन, पुल तथा फ्लाइओभर जस्ता संरचनाहरु निर्माणमा प्रयोग हुन्छ । ४३ ग्रेडको सिमेन्ट भने सामान्य निर्माण कार्यमा प्रयोग हुन्छ तर यसको हाइड्रेसन ) पानीमा घुल्ने शक्ति) ३३ ग्रेड सिमेन्टको भन्दा निकै कम हुन्छ ।