सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु

Feb 27th, 2020

काठमाडौं, १५ फागुन

कास्की, ताप्लेजुङ, बर्दिया र सिरहाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।

कास्की, पोखरा महानगरपालिका-१४ चाउथेस्थित सडकमा ग.१ ख ९५९५ नम्बरको माईक्रो बसले ग.१४ प ५२४ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार स्याङजा अर्जुन चौपारी-५ आरुचौर घर भई हाल पोखरा महानगरपालिका-१४ चाउथे बस्ने ३३ वर्षीय ईश्वर बहादुर क्षेत्री र आरुचौर बस्ने ३८ वर्षीय मेघ बहादुर क्षेत्रीको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । साथै सोही मोटरसाइकलले ग.१७ प १८८० नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते भएका स्कुटर चालक पोखरा महानगरपालिका-९ पृथ्वी चोक बस्ने २१ वर्षीय शुशिल शर्माको सोही अस्पतालमा उपचार भइरहेको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ताप्लेजुङ, मैवाखोला गाउँपालिका-३ साँघु चारभाईस्थित सडकमा को.३ त ९३ नम्बरको ट्याक्टर सडकबाट १० मिटर तल खसेर बुधबार साँझ दुर्घटना हुँदा सह-चालक सोही गाउँपालिका-१ बस्ने १८ वर्षीय खगेन्द्र नेपालीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका चालक मेरिङदेन गाउँपालिका-४ बस्ने २१ वर्षीय पासाङ तेन्जि शेर्पाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
बर्दिया, ठाकुरबाबा नगरपालिका-२ रानीपुरस्थित सडकमा से.१ च ९६० नम्बरको जिपले भे.८ प ९१७ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही नगरपालिका-८ बस्ने ३२ को निरक शाहीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक ठाकुरबाबा नगरपालिका-८ मडेला बस्ने ३८ वर्षीय जीवन बडुवालको सोही अस्पतालमा उपचार भइरहेको छ । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिरहा, कर्जन्हा नगरपालिका-४ स्थित सडकमा बिग्रिएर सडक किनारामा रोकी राखेको ना.३ ख ९०२४ नम्बरको ट्रकमा स.८ प ७७१२ नम्बरको मोटरसाइकल बिहीबार बिहान ठक्कर खाँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार कल्याणपुर नगरपालिका-८ बस्ने ४० वर्षीय बिपया दासको फुलकुमारी महतो ममोरियल अस्पताल कर्जन्हामा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक कल्याणपुर नगरपालिका-८ बस्ने २७ वर्षीय सोनिया दासको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।