neapl investment mega bank
  • गृहपृष्ठ
  • कृषि क्षेत्रलाई औद्योगिकीकरण गर्नुपर्ने : मुख्यमन्त्री राउत

कृषि क्षेत्रलाई औद्योगिकीकरण गर्नुपर्ने : मुख्यमन्त्री राउत

Feb 25th, 2020

जनकपुरधाम, १३ फागुन (रासस)

मुख्यमन्त्री लालबावु राउतले कृषिलाई औद्योगिकीकरण गर्नपर्ने आवश्यकता रहेको बताउनुभएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरद्वारा सोमबार यहाँ आयोजित खाद्य मेलाको समापन समारोहमा मुख्यमन्त्री राउतले मुलुक कृषिप्रधान मुलुक रहेपनि कृषिको औद्योगिकीकरण हुन नसक्नु दुर्भाग्यपूर्ण रहेको उल्लेख गर्नुभयो ।

खाद्य मेलाले कृषि उत्पादनलाई कसरी औद्योगिकीकरण गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिनुपर्ने बताउँदै उहाँले यस मेलाको माध्यमबाट कृषि क्षेत्रको विषयमा जानकारी प्राप्त भएको बताउनुभयो । मुख्यमन्त्री राउतले प्रदेश नं २ का किसानलाई मेलाको माध्यमबाट सिकेको ज्ञानलाई सदुपयोग गरी कृषि क्षेत्रको विकासतर्फ अग्रसर हुनुपर्ने विषयमा जोड दिनुभयो । मुलुकमा कृषि क्षेत्रको उत्थानका लागि सरकारले दिने गरेको अनुदान किसानकै खातामा पुग्न नसकेको उल्लेख गर्दै उहाँले कृषि क्षेत्रमा देखिएका बिचौलियालाई निरुत्साहित गर्न योजना ल्याउनुपर्ने धारणा राख्नुभयो ।

सो अवसरमा मेलामा सहभागी स्टलमध्ये उत्कृष्ट भएकालाई पुररस्कार प्रदान गरिएको थियो । ‘परम्परागत, पोषिलो एवं स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गरौँ, असल पोषणका लागि खानेबानीमा सुधार गरौँ’ भन्ने मूल नाराका साथ यही फागुन १० गतेदेखि मेला सञ्चालन भएको थियो ।