मन्त्री नेम्वाङद्वारा पदभार ग्रहण

Feb 24th, 2020

काठमाडौँ, १२ फगुन (रासस)

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले आज शहरी विकासमन्त्रीका रुपमा पदभार ग्रहण गर्नुभएको छ ।

आज अपरान्ह् ४ः३० मा मन्त्रालय पुग्नुभएका मन्त्री नेम्वाङलाई शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, सचिव मधुसुदन अधिकारीलगायत मन्त्रालयका कर्मचारीले स्वागत गर्नुभएको थियो । मन्त्री नेम्वाङले मन्त्रालयका कर्मचारीलाई जिम्मेवार, जवाफदेही र समन्वयात्मक बनेर काम गर्न निर्देशन दिनुभयो । उहाँले सबै आआफ्नो ठाउँमा जिम्मेवार बनेर समूहगत रुपमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले सबैले ‘हामीले नगरे कसले गर्छ’ भन्ने भावना विकास गर्न सके मात्रै नयाँ युगको शुरुआत हुने औँल्याउनुभयो । उहाँले नयाँ परिस्थितिबाट सरकार निर्माण भएपछि काम गर्ने वातावरण निर्माण भएको बताउनुभयो । उहाँले भन्नुभयो, “विगतमा वर्षवर्षमा सरकार ढल्ने अवस्था भएकामा स्थिर सरकार बनेसँगै त्यो अवस्था हटेको छ ।” मन्त्री नेम्वाङले आजै वाग्मती एकीकृत सभ्यतासँग जोडिएको विषयमा विधेयक निर्माण गर्न अर्थ मन्त्रालयसँग सैद्धान्तिक सहमतिका लागि तयार फाइलमा हस्ताक्षर गर्नुभएको छ ।