• गृहपृष्ठ
  • देशमा नीतिगत भ्रष्टाचार मौलाएको छ : अध्यक्ष थापा

देशमा नीतिगत भ्रष्टाचार मौलाएको छ : अध्यक्ष थापा

Feb 22nd, 2020

अत्तरिया, १० फागुन (रासस)

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा नीतिगत भ्रष्टाचार मौलाएको आरोप लगाउनुभएको छ । शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले आमूल परिवर्तनको नारा भ्रष्टाचारमा मात्र सिमित भएको बताउनुभयो ।

अध्यक्ष थापाले भन्नुभयो, “लोकतन्त्रको आवरणमा अहिले देशमा भ्रष्टाचार व्याप्त छ, अहिलेको देशको ठूलो चुनौती नै भ्रष्टाचार हो ।” देशमा संस्थागत र नीतिगत रुपमै भ्रष्टाचार भइरहेकाले यसलाई रोक्न जनता जाग्ने बेला आएको उहाँको भनाइ थियो ।

एमसिसीबारे पत्रकारको जिज्ञासामा उहाँले सबै राजनीतिक दलको सहमतिमा तयार पारिएको सम्झौता भएको भन्दै यसलाई पारित गरी कार्यान्वयनमा ल्याउनु सबैको जिम्मेवारी रहेको बताउनुभयो । एमसिसी नेपालको हितमा रहेकाले यसमा विवाद गर्नुको औचित्य नरहेको उहाँको भनाइ थियो । आफ्नो पार्टीको एजेन्डा हिन्दू राष्ट्र र राजसंस्थासहितको लोकतन्त्र रहेको उल्लेख गर्दै अध्यक्ष थापाले अब सङ्गठन विस्तारको अभियानमा अघि बढ्ने बताउनुभयो ।