• गृहपृष्ठ
  • कालीभक्त कृष्णा पन्त स्मृति प्रतिष्ठानको किताब विमोचन तथा पुरस्कार वितरण कार्यक्रम

कालीभक्त कृष्णा पन्त स्मृति प्रतिष्ठानको किताब विमोचन तथा पुरस्कार वितरण कार्यक्रम

Feb 20th, 2020

काठमाडौं, फागुन ८

कालीभक्त कृष्णा पन्त स्मृति प्रतिष्ठानले कालीभक्तको २८ औँ स्मृति दिवसको अवसर पारेर कालीभक्त पन्त–प्रजातन्त्रका सेनानी तथा नेपाली लोक साहित्यका अग्रपुरुषको विमोचन गरेको छ ।

सोही अवसर पारेर कालीभक्त पन्त अन्तर्राष्ट्रिय लोक साहित्य पुरस्कार र कालीभक्र कृष्णा पन्त पुरस्कार पनि वितरण गरिएको थियो भने कालीभक्त पन्त शिक्षा पुरस्कार पनि प्रदान गरिएको थियो । सोही अवसरमा केही सामाजिक व्यक्तित्वहरुलाई कालीभक्त पन्त सम्मान पुरस्कार पनि दिइएको थियो ।

प्रतिष्ठानका अध्यक्ष प्रा.डा पार्थिवेश्वर प्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि साहित्यकार काजी रोशन, पुरस्कृत तथा अतिथी कृष्ण कँडेल, अन्तर्राष्ट्रिय लोक साहित्य पुरस्कारका आयोजक साहित्यकार महेश्वर पन्त अतिथि पूर्व माननीय अर्जुनप्रसाद जोशी, फलेवास नपाका मेयर पदमपानी शर्मा पूर्व नेकाका जिल्ला अध्यक्ष नबराज गुरुङ लगायत थुप्रै अतिथीहरुको उपस्थिति थियो ।

कार्यक्रममा विमोचित कृतिको बारेमा बोल्दै काजी रोशनले कालीभक्त नेपाली लोकसाहित्य र संस्कृतिका बेजोड अनुसन्धाता हुनुहुन्थ्यो भन्दै उहाँद्वारा लिखित हाम्रो सांस्कृतिक इतिहास किताबका बारेमा प्रष्ट्याउनुभएको थियो ।

अन्य वक्ताहरुले पनि स्व. कालीभक्त पन्तको स्मरण गर्दै यस संस्थामार्फत उहाँलाई नेपाल तथा विश्वमा परिचित गराउन नेपाली लोक साहित्यमा योगदान पु¥याउने व्यक्तिलाई नेपालमा एक लाख एकहजार नेपाली रुपैँया तथा विदेशमा एक हजार एक डलरको अन्तर्राष्ट्रिय पुरस्कार स्थापना गरिएकोमा धन्यवाद तथा शुभकामना व्यक्त गरेका थिए ।

यस वर्षको कालीभक्त पन्त अन्तर्राष्ट्रिय लोकसाहित्य पुरस्कारका संस्थापक गोविन्दप्रसाद पन्त र ऊर्मिलादेवी पन्तको हातबाट एवीसी टेलिभिजनबाट प्रसारित प्रसिद्ध कार्यक्रम इन्द्रेणीका संस्थापक तथा संचालक कृष्ण कँडेललाई प्रदान गरिएको थियो । सोही अवसरमा पुरस्कृत व्यक्ति कृष्ण कँडेलले गत वर्ष शताब्दी पुरुष सत्यमोहन जोशीजस्तो मूर्धन्य व्यक्तित्वले प्राप्त गरेको यस पुरस्कार यस वर्ष आफूलाई पुरस्कारको योग्य सम्झिई पुरस्कृत गरेकोमा अझ नेपाली लोक साहित्य र यसको माध्यमबाट गर्दैआएको सामाजिक कार्यहरुलाई बढाउन प्रेरणा प्राप्त भएको कुरा व्यक्त गरेका थिए ।

शिक्षा पुरस्कारको लागि विद्यालयले सिफारिस गरेअनुसार शारदा मावि, कुर्घा, पर्वतकी कक्षा ९ मा अध्ययनरत जेहेन्दार छात्रा अनिता शर्मा र लिमिठाना माविका दलित जेहनदार छात्र सागर सुनारलाई जनही आठ हजार पुरस्कार पुरस्कार संस्थापक गोविन्दप्रसाद पन्तले प्रदान गरेका थिए ।

सोही कार्यक्रममा कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानले समाजसेवा क्षेत्रमा उल्लेख्य काम गरेका व्यक्तिहरु स्व। हवल्दार पदमबहादुर श्रेष्ठ, फलेवासलाई मरणोपरान्त नगद रु ५००० उनका छोरालाई र श्रीमती मानकुमारी गिरी, कुस्मालाई दोसल्ला ओढाइ नगद रु. ५००० प्रतिष्ठानका उपाध्यक्ष तथा विमोचित कृतिका सम्पादक प्रा।डा। गजबकुमारी शर्मा तिमिल्सिना र कार्यक्रमका अध्यक्ष पार्थिवेश्वर प्रसाद तिमिल्सिना र प्रमुख अतिथि काजी रोशनले संयुक्त रुपमा प्रदान गरेका थिए ।

कार्यक्रमलाई एवीसी टेलिभिजनबाट प्रसारित हुने इन्द्रेणी कार्यक्रमका समूहले दोहोरी गीतहरु प्रस्तुत गरी कार्यक्रमलाई रमणीय बनाएका थिए । बृहद् जनमानसको उपस्थितिमा भएको उक्त कार्यक्रममा इन्द्रेणीका कलाकारहरुका लागि केही सहयोग पनि जुटेको थियो ।