• गृहपृष्ठ
  • ‘लोकतान्त्रिक पद्दतिलाई राजनीतिक दलले अझै अनुशरण गर्न सकेनन्’

‘लोकतान्त्रिक पद्दतिलाई राजनीतिक दलले अझै अनुशरण गर्न सकेनन्’

Feb 20th, 2020

नेपालगन्ज, ८ फागुन (रासस)

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले लोकतान्त्रिक मूल्य, मान्यता र पद्दतिलाई नेपालका राजनीतिक दलले अझै पूर्णरुपमा अनुशरण गर्न नसकेको बताउनुभएको छ । सत्तरीऔँ प्रजातन्त्र दिवसका अवसरमा बिपी अध्ययन प्रतिष्ठानले नेपाली काँग्रेस, बाँके पार्टी कार्यालयमा स्थापना गरेको पुस्तकालयको बुधवार उद्घाटन गर्दै नेता सिंहले भन्नुभयो, “लोकतन्त्र व्यवस्थामा मात्र नभई यो मानिसको आचरणसँग पनि जोडिनुपर्छ ।”

उहाँले भन्नुभयो, “लोकतन्त्रप्रति विचलन आउनुहुँदैन, किनभने लोकतन्त्रको विकल्प फेरि अर्को व्यवस्था हुनै सक्दैन् ।” काँग्रेस युवा नेता गगन थापाले एक दिनको अभ्यासले लोकतन्त्रको गहिराइ मापन गर्न नसकिने बताउँदै यसको यात्रा सधैँ अनन्त हुने गर्छ भन्नुभयो ।

कार्यक्रममा प्रतिष्ठानका बाँके जिल्ला अध्यक्ष सुधांशु कोइरालाले पुस्तकालयको साँचो र रजिस्टर्ड बाँके काँग्रेसका सभापति किरण कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो । यसैबीच ७०औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज नेपालगञ्जमा प्रभातफेरी गरिएको छ । जिल्ला समन्वय समिति बाँकेको आयोजनामा प्रभातफेरी गरिएको हो ।

नेपाल प्रहरीको व्याण्डबाजासहित बिपी चोकबाट शुरु भएको प्रभातफेरी त्रिभुवन चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले प्रजातन्त्र व्यवस्था मात्र नभई मानिसको आचरणसमेत भएकाले यसको संरक्षणमा सबैले ध्यान दिनुपर्छ भन्नुभयो ।