• गृहपृष्ठ
  • काँग्रेस अग्र पङ्क्तिमा रहेकै कारण सबै परिवर्तन सम्भव : केन्द्रीय सदस्य भण्डारी

काँग्रेस अग्र पङ्क्तिमा रहेकै कारण सबै परिवर्तन सम्भव : केन्द्रीय सदस्य भण्डारी

Feb 20th, 2020

दमौली, ८ फागुन (रासस)

नेपाली काँग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले हरेक परिवर्तनको आन्दोलनको अग्र नेतृत्व नेपाली काँग्रेसले गरेको दाबी गर्नुभएको छ ।

तनहुँको ऋषिङ गाउँपालिका–८ को नवनिर्मित वडा कार्यालय भवनको बुधबार उद्घाटन गर्दै उहाँले काँग्रेस अग्र पङ्क्तिमा रहेकै कारण सबै परिवर्तन सम्भव भएको हो भन्नुभयो ।

केन्द्रीय सदस्य भण्डारीले भन्नुभयो,“ १०४ वर्षे राणाशासनको अन्त्य, २०४६ सालको आन्दोलन, ६२/६३ को जनआन्दोलन, तत्काली नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने र नयाँ संविधान जारी गर्ने कामको नेतृत्व काँग्रेसले गरेको हो ।”

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, संविधानसभा सदस्य झुलबहादुर आले, जिल्ला समन्वय समितिका सदस्य निलबहादुर थापा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेललगायतले जनताको भावना बुझेर जनप्रतिनिधिले काम गर्नुपर्नेमा जोड दिनुभयो । रु ४० लाखको लागतमा वडा कार्यालयको भवन निर्माण सम्पन्न भएको वडाध्यक्ष भविसरा आलेले जानकारी दिनुभयो । आफ्नै वडा कार्यालय भवन भएपछि जनतालाई सेवा प्रवाह गर्न सहज हुने उहाँले बताउनुभयो ।

बाटो डेढ महिना बन्द हुने

पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको यहाँको व्यास नगरपालिका–५ स्थित मानहुँकोट जाने बाटो डेढ महिना बन्द हुने भएको छ । मानहुँकोट नजिकै रहेको पहरामा ढलान गर्न बाटो बन्द गर्न लागिएको हो ।

सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीअन्तर्गत निर्माण भइरहेको उक्त सडकको करिब ४०० मिटर भाग आरसिसी गर्नका लागि सडक बन्द गर्न लागिएको निर्माण कम्पनी रानीवन कन्स्ट्रक्शनका सञ्चालक केशव ढुङ्गानाले जानकारी दिनुभयो ।

सडक बन्द हुनेबारे व्यास नगरपालिकाको कार्यालयलाई जानकारी गराइएको र उक्त जानकारीको बोधार्थ वडा नं ५ को कार्यालय, जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई पनि दिइएको छ ।

सङ्घीय सरकारको बजेटमार्फत् मानहुँकोट जाने बाटो कालोपत्रेका लागि करिब पाँच किलोमिटर नाला निर्माण सम्पन्न भइसकेको छ । पाँच किलोमिटर सडक कालोपत्रेका लागि ग्राभेल गर्ने कामलाई समेत अगाडि बढाउन लागिएको उहाँले बताउनुभयो ।

चालु आर्थिक वर्षभित्रै कालोपत्रे सम्पन्न गरिसक्ने लक्ष्य छ । सोही वडाको चापाघाटदेखि अलैचेसम्मको डेढ किमि सडक पहिल्यै कालोपत्रे भइसकेको छ । व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले मानहुँकोटसम्म कालोपत्रे सडक भएपछि पर्यटकको सङ्ख्या थप वृद्धि हुने जानकारी दिनुभयो ।

अहिले पनि मानहुँकोटमा दैनिक दुई÷तीन सय आन्तरिक पर्यटक पुग्ने गरेका छन् । मानहुँकोटबाट आँखै अगाडि पाँच वटा हिमालको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । मानहुँकोटबाट धौलागिरि, माछापुच्छ«े, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिने भएकाले यस ठाउँ पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको छ ।

मानहुँकोटबाट दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युत्को ड्याम निर्माणस्थल एवं मनोरम दृश्य देख्न सकिन्छ । मानहुँडाँडा आफैँमा एउटा दृश्यावलोकन स्तम्भ (भ्युटावर) हो । यहाँबाट दमौली बजारका साथै आसपासका ठाउँहरु प्रष्ट देख्न सकिन्छ । मानहुँडाँडाबाट दृश्यावलोकनका लागि आउने पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै व्यास नगरपालिकाले डाँडाको छेउमा रेलिङ निर्माण गरेको छ । नगरपालिकाको रु २५ लाख र वडा कार्यालयको रु पाँच लाखको लागतमा रेलिङ निर्माण गरिएको छ ।