भक्तपुरका तीन नामुद हेडसरलाई सम्मान

Feb 20th, 2020

भक्तपुर, फागुुन ८

भक्तपुरका तीन जना नामुद हेडसरहरुलाई सम्मान गरिएको छ । भक्तपुरको शिक्षालाई उत्कृष्ट, गुणस्तरीय बनाउनका लागि आफ्नो महत्वपूर्ण समय दिएका तीन हेडसरहरुलाई भक्तपुरको रोम्बस सेकेण्डरी स्कुलले बुधबार सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा भक्तपुरको उत्कृष्ट विद्यालयको रुपमा रहेको वागीश्वरी माविका पूर्व प्रधानाध्यापक मोहनप्रसाद प्रजापति, बासु माविका पूर्व प्रधानाध्यापक बालमुकुन्द बासुकला र जोरपाटी मावि तथा देवी माविका पूर्व प्रधानाध्यापक शेरबहादुर ङाखुसी रहेका छन् ।

उनीहरुलाई रोम्बस सेकेण्डरी स्कुलको छैटौं वार्षिक साधारणसभा, पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले दोसल्ला ओढाउँदै ‘भक्तपुर शैक्षिक रोशन’ पदकका साथ सम्मान गरेका थिए ।

कार्यक्रममा प्रमुख प्रजापतिले विद्यार्थीहरुलाई सभ्य, सुसंस्कृत र असल नागरिक बन्न अभिप्रेरित गर्दै व्यक्ति समृद्धि बन्ने होइन देशलाई समृद्धितर्पm लग्न सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।
उनले शिक्षाले व्यक्ति, समाज र देशलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएको र उच्च शिक्षामा गरिब जनताको पहुँच नभएको बताउँदै शिक्षामा जनताको पहुँच अभिवृद्धि गर्न भनपाले सस्तोमा गुणस्तरीय शिक्षा दिने कलेजहरु सञ्चालन गरी भक्तपुरलाई शैक्षिक गन्तव्यस्थल बनाउन लागिरहेको उल्लेख गरे ।

कार्यक्रममा स्कूलका प्रिन्सिपल राजेन्द्र कोजूले रोम्बस स्कूल चरित्रवान, नैतिकवान र विद्यार्थी उत्पादन गर्ने अभियानमा रहेको बताउनुहुँदै विद्यालयले पठनपाठनका अतिरिक्त खेलकुद र साहित्यलाई विशेष जोड दिँदै आएको बताए ।

सोही अवसरमा ईसिडी विशेषज्ञ सानु अमात्यले स्कूलको गतिविधि बालमैत्री भएको बताउँदै २१ औं शताब्दीमा विद्यार्थीहरुलाई युग सुहाउँदो शिक्षा दिन विद्यालय अग्रसर हुनुपर्ने र वालवालिकाको शारीरिक र मानसिक विकास सँगै असल संस्कार दिनुपर्नेमा जोड दिइन् ।

विद्यालयले सोही अवसरमा रोम्बस शुभश्री पदक २०७६ प्रदान गरेको छ । सो सम्मानबाट कमल ढुंगाना, बबिता गुरुङ र लक्ष्मीकुमार भैनात्व सम्मानित भएका छन् ।

कार्यक्रममा वर्ष अभिभावक पदक २०७६ बाट उमेश खड्का घोषित भएका छन् । त्यस्तै सक्रिय अभिभावक पदक २०७६ बाट राजेश श्रेष्ठ र बिन्दा थापा सम्मानित भएका छन् ।

सोही अवसरमा वर्ष शिक्षक पदक २०७६बाट शिक्षक उमेश सुवाल सम्मानित भएका छन् ।कार्यक्रममा रोम्बस निरन्तर सेवा पदक २०७६ बाट शिक्षकहरु नवीन दुवाल, रोशनी सुवाल, अर्चना मानन्धर, सूर्यप्रसाद तिमल्सिना र जनकराज कार्की सम्मानित भएका छन् ।

कार्यक्रममा चित्रबहादुर पाण्डे गौरब पुरस्कार २०७६ बाट विपिन उप्रेती सम्मानित भएका छन् ।