• गृहपृष्ठ
  • फेरी ठगिए उखु किसान, आश्वासन दिने सरकारले किन बुझ्दैन मर्का

फेरी ठगिए उखु किसान, आश्वासन दिने सरकारले किन बुझ्दैन मर्का

Feb 18th, 2020

आधारभूमी संवाददाता

काठमाडौं ,६ फागुन

सरकारले किसानलाई अनुदान बापत दिनुपर्ने १ अर्ब ३२ करोड अझै दिएको छैन । उखु बिक्रीको करिब डेढ अर्ब रुपैयाँ भुक्तानी नपाएपछि काठमाडौं आएर आन्दोलन गरेका किसानले म्याद नाघेको एक महिनासम्म उखु किसानले मिलबाट अझै एक अर्ब भुक्तानी पाएका छैनन् ।

सरकारले किसानलाई ७ माघसम्म सम्पूर्ण भुक्तानी दिलाउने आश्वाशन दिएको थियो । चिनी मिललाई कागज गराएर अनुदान दिने भने पनि किसानले सो भुक्तानी नपाउँदा समस्यामा परेका छन् ।

सरकारले किसानलाई उखु काट्ने बेलामा अर्थात मंसिर पुसमा अघिल्लो वर्षको अनुदान दिइसक्नुपर्ने हो । तर, सरकारले आर्थिक वर्ष ०७४–७५ को २ करोडसहित १ अर्ब ३२ करोड रुपैयाँ अनुदान रकम दिन बाँकी छ ।

किसानलाई अनुदान रकम उपलब्ध गराउन कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गत आइतबार अर्थ मन्त्रालयलाई पत्राचार गरेको थियो । तर, अर्थले अहिलेसम्म निर्णय गरेको छैन ।

उखु किसानलाई उपलब्ध गराउनुपर्ने १ अर्ब ३३ करोड रुपैयाँमध्ये अर्थले दसैँअघि ९२ करोड रुपैयाँँ निकासा दिएको थियो । सरकारले उखु किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ अनुदान उपलब्ध गराउने व्यवस्था छ । सो रकम पनि किसानले पाएका छैनन् ।

त्यस्तै सरकारले , गत वर्षको ४१ करोड ३९ लाख रुपैयाँ निकासा पनि अझै गरिदिएको छैन ।

त्यसैगरी सर्लाहीको अन्नपूर्ण सुगर मिलले सबैभन्दा धेरै रकम किसानलाई दिन बाँकी छ । सो उद्योगले ४२ करोड रुपैयाँँ दिन बाँकी छ । यस्तै रौतहटको श्रीराम सुगर मिलले २६ करोड ७७ लाख रुपैयाँँ किसानलाई भुक्तानी गर्न बाँकी छ ।

नवलपरासीको लुम्बिनी सुगर मिल र इन्दिरा सुगर मिलले ११–११ करोड भुक्तानी गर्न बाँकी छ । सिराहाको हिमालयन सुगर मिलले २० लाख ६४ हजार र कन्चनपुरको महाकाली सुगर मिलले ६२ हजार रुपैयाँँ भुक्तानी गर्न बाँकी छ ।

सर्लाहीको महालक्ष्मी सुगर मिलले किसानलाई ७ करोड रुपैयाँँ दिन बाँकी छ । केही दिनअघि मात्र ३ करोड रुपैयाँँ वितरण गरेको थियो । सो उद्योगले यसअघि ११ करोड २८ लाख रुपैयाँँ दिएको थियो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योगीलाई दबाब दिएर किसानको बक्यौता तिर्न दबाब दिइरहेको वताउँछ । उद्यागीले बिस्तारै तिर्न थालेको र मन्त्रालयले पनि उद्योगीमाथि दबाब बढाइरहेको दावी गरेको छ ।

पुषको जाडोमा आफ्नो पसिनाको मूल्य खोज्दै काठमाडौ आएर सरकारको न्यानो साथ खोजेका उखु किसानसरकारले नै धोका दिएपछि फेरी रिास भएका छन् ।

पुस महिनाभर काठमाडौं केन्द्रीत आन्दोलन गरेका उखु किसानलाई भुत्तानी दिन सरकारले दिएको निर्देशनलाई उद्योगीले समेत लत्याएका छन् ।

उखु किसानले चिनी उद्योगीहरुबाट झण्डै एक अर्ब भन्दा बढी बक्यौता रकम लिनुपर्ने छ । सरकारले उद्योगी र किसानलाइृ राखेर सो रकम भुक्तनी गराउन सम्झौता पनि गराएको थियो ।

यस्तो थियो आश्वाशन

सर्लाहीका उखु किसानले काठमाडौं केन्द्रीत आन्दोलन गर्दा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आगामी माघ ७ गतेभित्रै मिल मालिकहरुबाट उखु किसानहरुको भुक्तानी गराइनेबारे लिखित सहमति गर्ने प्रतिबद्धता जनाएका थिए ।

उखु किसानहरुको भुक्तानी, चिनीको आपूर्ति लगायतका विषयमा कुनै समस्या वा गुनासो भए उखु किसान र उद्योगीहरुले तत्काल जानकारी गराउन र सोको सम्बोधन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आपूर्ति व्यवस्थापन महाशाखालाई सम्पर्क महाशाखाको रुपमा तोक्ने सहमति समेत भएको थियो ।

यता चिनी उद्योगीले भने आफन्तहरुले भुत्तानी दिइरहेको दावी गरेका छन् । महालक्ष्मी सुगर मिलले १० करोड र अन्नपूर्ण सुगर मिलले ५ करोड दिएको दावी गरेका थिए । तर , किसानहरुले सो रकम नपाएको बताएका छन् । यसैविच किसानहरुले आजसम्म कुर्ने र सो रकम नपाएमा फेरी आन्दोलन गर्ने वताएका छन् ।

उद्योग विभागका अनुसार ६ वटा मिलले भुक्तनी दिइसकेको छन् भने बाँकी रहेका उद्योगहरुले पनि आँशिक भुक्तानी दिएका छन् । तर सरकारले दावी गरे अनुसार किसानको हातमा रकम नपुगेको उखु किसानको गुनासो छ ।

उनीहरुले चिनी मिलले आफूखुसी कायम गरेको प्रतिक्विन्टल ५ सय रुपैयाँ खारेज गरी सरकारले निर्धारण गरेको ५ सय ३६ रुपैयाँ कायम गर्न माग गरेका छन् । सरकारले उखु उद्योगीलाई प्रोत्साहन स्वरुप प्रतिक्विन्टल ६५ रुपैयाँ पनि दिने गरेको छ । उद्योगी तथा विचौलियाले सो रकम पनि घुमाउरो पारामा ठग्ने गरेको किसान गुनासो गर्छन् ।