राष्ट्रियसभामा शोक प्रस्ताव पारित

Feb 17th, 2020

काठमाडौँ, ५ फागुन (रासस)

राष्ट्रियसभाको आजको बैठकले पहिलो संविधानसभाका सदस्य सिद्धार्थकुमार सोमानी र राष्ट्रियसभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गर्नुभएको उक्त शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो । बैठकमा दिवङ्गत सोमानी र उपाध्यायको आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौन धारणसमेत गरिएको थियो । सांसद उपाध्याय २०७४ को राष्ट्रियसभा निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट प्रदेश नं. ५ बाट राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । क्यान्सर रोगका कारण स्व. नेता उपाध्यायको ५१ वर्षको उमेरमा यही फागुन २ गते उपचारका क्रममा निधन भएको थियो ।

त्यसैगरी स्व. सोमानी विसं २०६४ को संविधानसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसद हुनुहुन्थ्यो । उहाँको ५२ वर्षको उमेरमा गत माघ २५ गते निधन भएको थियो । स्व। सुमानी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग आबद्ध हुनुहुन्थ्यो । राष्ट्रियसभाको अर्को बैठक यही फागुन ६ गते दिउँसो १ः०० बजे बस्नेछ ।