• गृहपृष्ठ
  • निर्वाचन आयोगले चौथो निर्वाचन दिवस, २०७६ मनाउने

निर्वाचन आयोगले चौथो निर्वाचन दिवस, २०७६ मनाउने

Feb 17th, 2020

काठमाडौ, फागुन ५

निर्वाचन आयोगले चौथो निर्वाचन दिवस, २०७६ यही फागुन ६ र ७ गते विभिन्न कार्यक्रमहरू गरी भव्यताकासाथ मनाउने तयारी गरेको छ । आयोगका अनुुसार यस बर्ष निर्वाचन दिवसको आदर्श वाक्य “स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचन : शान्ति, स्थिरता, समृद्धि र सुशासन” रहेको छ ।

कार्यक्रम अनुसार फागुन ७ गते दिनको २ः०० बजे निर्वाचन आयोग परिसरमा सम्माननीय राष्ट्रपतिज्यूको समुपस्थितिमा मूल समारोहको कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रममा आयोगको तेस्रो पञ्चवर्षीय रणनीतिक योजना, (२०७६/०७७ – २०८०/०८१), निर्वाचन स्मारिका, २०७६ र निर्वाचन न्याय, स्रोत पुस्तिका, २०७६ को लोकार्पण, आयोग र अन्तरगत कार्यालयमा कार्यरत उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्ने कार्यक्रम समेत रहेको छ । फागुन ७ गते बिहान “स्वच्छ, स्वतन्त्र, विश्वसनीय र मितव्ययी निर्वाचन” विषयक रेडियो नेपाल र नेपाल टेलिभिजनबाट परिसंवाद प्रसारण गरिने छ भने फागुन ६ गते बिहान ६ः३० बजे रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम प्रसारण गरिने छ ।

मिति २०७६ फागुन ६ गते आयोग परिसरमा वृक्षरोपण तथा सरसफाइ, खेलकद कार्यक्रम र नेपाल रेडक्रस सोसाइटीको समन्वय र सहयोगमा रक्तदान कार्यक्रम गरिने भएको छ । त्यसैगरी सोही दिन निर्वाचन आयोगको मिडिया सेन्टरमा प्रमुख निर्वाचन आयुक्तज्यूबाट निर्वाचन तथा मतदाता शिक्षा हाते पुस्तिका लोकार्पणका साथै उपनिर्वाचन, २०७६ को संक्षिप्त भिडियो प्रदर्शन र निर्वाचनको आवश्यकता तथा महत्वको विषय सन्दर्भको “एक भोट नामक” फिल्म प्रदर्शन गर्ने तथा आयोग वा अन्तर्गत २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई पुरस्कृत गर्ने लगायतका कार्यक्रम रहेको छ ।

जिल्ला निर्वाचन कार्यालय ७७ वटैमा मिति २०७६/११/१ देखि मिति २०७६/११/८ गतेसम्म “चौथो निर्वाचन दिवस, २०७६ तथा मतदाता दर्ता सप्ताह” को व्यानर सहित मतदाता दर्ता कार्यक्रम सञ्चालन गर्ने, मिति २०७६/११/६ गते सदरमुकामस्थित कुनै एक सामुदायिक माध्यमिक विद्यालयमा “निर्वाचन र लोकतन्त्र” विषयक माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सञ्चालन गर्ने, कार्यालय परिसर सरसफाई र वृक्षारोपण गर्ने कार्यक्रम रहेको छ । यसैगरी मिति २०७६/११/७ गते जिल्लास्थित सरकारी कार्यालय प्रमुखहरू, जिल्ला सदरमुकामस्थित स्थानीय तहका प्रमुख, उपप्रमुख, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, नागरिक समाज र पत्रकार लगायतको उपस्थितिमा “निर्वाचनमा सरोकारवालाहरूको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम गरी मनाइने कार्यक्रम रहेको छ ।

चौथो निर्वाचन दिवस, २०७६ को उपलक्ष्यमा मिति २०७६/११/६, ७ र ८ गते आयोग र अन्तरगतका कार्यालयमा साँझ दिपावली गर्ने र घरघरमा दिपावली गर्न सम्पूर्ण मतदाता एवम् आम नागरिकहरू प्रति आयोगले अनुुरोध गरेको छ ।