प्रतिमहिना ५० लाखको काठ तस्करी

Feb 16th, 2020

वीरगञ्ज, ४ फागुन (रासस)

डिभिजन वन कार्यालय पर्साले मातहतमा रहेका सेक्टर वन कार्यालयलाई अवैधरुपमा हुने रुख कटानी तथा तस्करी रोक्न निर्देशन दिए पनि सुरक्षाको अभावका कारण तस्करले प्रतिमहिना रु ५० लाख मूल्य बराबरको हरिया रुख कटान गरी काठ तस्करी गर्ने गरेको बढनिहार सबडिभिजन वन कार्यालय मनवाले जनाएको छ ।

तस्कर हतियार बोकी रातको समयमा बन्दोबस्तीका सामानसहित वनभित्र प्रवेश गरी हरियो रुख काटेर तस्करी गर्ने गरेकाले सो क्षेत्रमा प्रतिमहिना करिब रु ५० लाख मूल्य बराबरको काठ तस्करी भइरहेको छ । बढनिहार सेक्टर वन कार्यालयका सहायक वन अधिकृत शशिकान्त ठाकुरले भन्नुभयो, “हामीसँग दुई वटा मात्र पुरानो राइफल रहेको छ, वन रक्षकको अभाव तथा जनशक्तिको कमीका कारण काठ तस्करी रोक्न नसकिएको हो ।”

पर्साको उत्तरी क्षेत्रमा रहेको राष्ट्रिय वनमा अहिले तस्करको चाप बढ्न गएकाले काठ तस्करी मौलाउँदै गएको छ । उहाँले काठ तस्करी रोक्न तथा तस्करलाई समात्न स्थानीय प्रहरीले सहयोग गर्नुपर्ने ठाउँमा बागेश्वरी सशस्त्र प्रहरी, एकटाँगा प्रहरी मनवा प्रहरी, महुवन प्रहरीले आफँै तस्करसँग मिलेर उनीहरुलाई सघाउने गरेकाले काठ तस्करी रोक्न नसकिएको उहाँले बताउनुभयो । पर्सामा कूल भू–भागमध्ये ५४ दशमलव १८ प्रतिशत क्षेत्र वनजङ्गलले ढाकिएको र सो वनजङ्गलमा हुने चोरीसिकारी तथा काठ तस्करी अहिले स्थानीय व्यक्तिद्वारा हुने गरेको छ ।