• गृहपृष्ठ
  • प्रदेश नं २ को सरकार परिवर्तन हुँदैन : यादव

प्रदेश नं २ को सरकार परिवर्तन हुँदैन : यादव

Feb 16th, 2020

विराटनगर, ४ फागुन (रासस)

समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले प्रदेश नं २ को सरकार परिवर्तन नहुने बताउनुभएको छ । प्रेस नेपाल मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रदेश नं २ को सरकारविरुद्ध कुदृष्टि लगाउनेहरु भए पनि राष्ट्रिय जनता पार्टीसँगको सहकार्यमा पूरा अवधि सञ्चालन हुने जिकिर गर्नुभयो । पूर्वउपप्रधानमन्त्री यादवले राजपासँग आगामी दिनमा दुई पार्टीबीच एकीकरण हुने बताउनुभयो ।

उहाँले सबै नेपालीको चाहनाअनुसार संविधान संशोधन हुनुपर्नेमा जोड दिँदै विश्वमा संविधान संशोधन भएको इतिहास रहेको उल्लेख गर्नुभयो । अध्यक्ष यादवले सबैको स्वामित्व हुने गरी संविधान संशोधन तथा परिमार्जन नभएमा गणतन्त्र अगाडि बढ्न नसक्ने धारणा व्यक्त गर्नुभयो । एक प्रश्नको जवाफमा उहाँले संविधान संशोधनको शर्तका आधारमा पार्टी सरकारमा सहभागी भएको जानकारी दिँदै संविधान संशोधन नहुने भएपछि सरकारबाट बाहिरिएको प्रष्ट पार्नुभयो ।

अध्यक्ष यादवले संविधान संशोधनका लागि पहिले सदनबाट सङ्घर्ष गर्ने अन्यथा सडकबाट विद्रोह शुरु गर्ने बताउनुभयो । संसदीय संरचना, शासकीय स्वरूप तथा राज्य पुनःसंरचनाका सवालमा संविधान संशोधन हुनुपर्ने उहाँको जोड थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग संसद्प्रति उत्तरदायी हुने पर्नेमा जोड दिँदै पूर्वाग्रहको आधारमा कारवाही नगरी सबैलाई समान व्यवहार गर्नुपर्ने तथा प्रश्न उठेकाप्रति छानबिन हुनुपर्ने औँल्याउनुभयो ।