• गृहपृष्ठ
  • मुुलुकको बैदेशिक व्यापारको सुधारोन्मुख, निर्यात बढ्दा आयातमा कमी

मुुलुकको बैदेशिक व्यापारको सुधारोन्मुख, निर्यात बढ्दा आयातमा कमी

Feb 16th, 2020

काठमाडौ, फागुुन ४

मुुलुकको बैदेशिक व्यापारमा केही सुधार देखिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको मुुलुकको छ महिनाको बित्तीय अवस्था सम्वन्धी प्रतिवेदन अनुसार निर्यात र आयात बिचको बिगतको उच्च असन्तुुलनमा केही कमी आएको छ । प्रतिवेदन अनुसार वर्ष २०७६/७७ को ६ महिनामा कुल वस्तु निर्यात २६.१ प्रतिशतले वृद्धि भई ५७ अर्ब २८ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ११.५ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ ४५.८ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ८.५ प्रतिशत र अन्य मुलुकतर्फ ३.८ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, अलैंची, जुटका सामान, आयुर्वेदिक औषधि, दाल लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुस, तामाको तार लगायतका वस्तुहरुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७६/७७ को ६ महिनामा कुल वस्तु आयात ४.० प्रतिशतले घटेर छ खर्ब ९४ अर्ब ६९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३०.५ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ९.१ प्रतिशतले घटेको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १२.१ र ०.४ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा कच्चा पाम तेल, हटरोल सिट, रासायनिक मल, मेसिनरी तथा पार्टपुर्जा, विद्युतीय उपकरण लगायतका वस्तुको आयात बढेको छ भने एम.एस. बिलेट, पेट्रोलियम पदार्थ, सुन, यातायातका साधन तथा पार्टपुर्जा, सिमेन्ट लगायतका वस्तुको आयात घटेको छ ।

भन्सार नाकाका आधारमा निर्याततर्फ वीरगंज, विराटनगर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, मेची र तातोपानी भन्सार कार्यालय बाहेकका नाकाहरुबाट गरिएको निर्यातमा ह्रास आएको छ । आयाततर्फ सुख्खा बन्दरगाह, तातोपानी, कन्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाहरुबाट भएको आयातमा ह्रास आएको छ । आर्थिक वर्ष २०७६/७७ को ६ महिनासम्ममा कुल वस्तु व्यापार घाटा ६.१ प्रतिशतले संकुचन भई छ खर्ब ३७ अर्ब ४१ करोड रहेको छ । गत वर्षको सोही अवधिमा व्यापार घाटा ३२.० प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ६.३ प्रतिशत रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।