• गृहपृष्ठ
  • आमा घर सेवा आश्रमलाई ग्लोबल आइएमई बैंकको तीन लाख सहयोग

आमा घर सेवा आश्रमलाई ग्लोबल आइएमई बैंकको तीन लाख सहयोग

Feb 16th, 2020

काठमाडौ, फागुुन ४

ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आमाघर सेवा आश्रममा निर्माणाधीन भवनमा सोलार जडानका लागि तीन लाख रुपैयाँ सहयोग गरेको छ । बैंकको बाग्मती प्रदेशका डेपुटी प्रदेश प्रमुख दिपेन्द्र कडरियाले शुक्रबार आयोजित एक कार्यक्रममा आमाघर सेवा आश्रमका अध्यक्ष रामचन्द्र उप्रेती तथा संरक्षक विजयराज सिग्देललाई तीन लाखको चेक हस्तान्तरण गरेका हुुन ।

कार्यक्रममा बोल्दै आमाघर सेवा आश्रमका अध्यक्ष उप्रेतीले सामाजिक उत्तरदायित्वमा पहल गर्दै ग्लोबलले गरेको सहयोग देख्दा निकै हर्षित भएको विचार व्यक्त गरे ।

आमा घर सेवा आश्रमका संरक्षक सिग्देलले बैंकले आश्रममा बस्ने बुढा आमाबुवाहरुका लागि अति आवश्यक तातोपानीका लागी सोलार जडानका निमित्त आर्थिक सहयोग प्रदान गरेकोमा ग्लोबल आइएमई बैंक लिमिटेडलाई धन्यवाद व्यक्त गरे । उनले ग्लोबल आइएमई बैंक, आश्रमलाई आर्थिक सहयोग प्रदान गर्ने प्रथम बैंक भएको समेत जानकारी गराए । त्यसैगरी डेपुटी प्रदेश प्रमुख दिपेन्द्र कडरियाले बैंक पनि समाजकै अंग भएकोले यस्तै किसिमका सामाजिक उत्तरदायित्व निर्वाहका निमित्त सामाजिक कार्यक्रमहरुमा सहयात्री भई नै रहने जानकारी गराए ।

कार्यक्रममा स्थानीय राजनैतिक दलका प्रतिनिधि, मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीका पदाधिकारी, आश्रम ब्यवस्थापन समितिका पदाधिकारी, भवन निर्माण समितिका पदाधिकारी तथा स्थानीयको उपस्थिति रहेको थियो । बैंकले स्थापनाकाल देखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ ।