• गृहपृष्ठ
  • महराको अन्तीम सुनुवाई सकियो, फैसला भने भएन

महराको अन्तीम सुनुवाई सकियो, फैसला भने भएन

Feb 16th, 2020

आधारभूमी संवाददाता

काठमाडौ,फागुन ४

यौनशोषणको आरोपमा जेल परेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दाको अन्तिम सुनुवाइ आइतबार सकिएको छ । तर उनको बारेमा फैसला भएको छैन ।

काठमाडौं जिल्ला अदालतमा आइतबार अन्तिम बहस सकिएको हो । महराविरुद्धको मुद्दामा सुनुवाई सकिए पनि फैसला हुन नसकेको अदालतले जनाएको छ ।

उनीविरुद्ध जबर्जस्ती करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको अभियोगमा साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय मागसहित मुद्दा दायर भएको थियो ।

अन्तिम सुनुवाइ जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासमा भएको थियो । सुनुवाईमा महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी,लभ मैनाली,दिनमणी पोखरेल,भीमार्जुन आचार्यलगायत आठ जनाअधिवक्ताले बहस गरेका थिए ।

यसैगरी सरकारी पक्षबाट उमाकान्त खनाल लगायतका वकिलहरुले बहस गरेका थिए ।

महराले जिल्ला अदालत काठमाडौँको फैसलाविरूद्ध पाटन उच्च अदालतमा निवेदन दिएका थिए । उच्च अदालतले जिल्ला अदालतको फैसलालाई सदर गर्दै एक महिनाभित्र मुद्दाको टुङ्गो लगाउन आदेश दिएको थियो ।

महराविरुद्ध गत कात्तिक १४ गते जिल्ला अदालत काठमाडौमा मुद्दा दायर भएको थियो ।