• गृहपृष्ठ
  • ‘सल्यानले धान्न सक्छ कर्णालीको खाद्यान्न माग’

‘सल्यानले धान्न सक्छ कर्णालीको खाद्यान्न माग’

Feb 13th, 2020

–रमेश कुमार वली
सल्यान, फागुन १ (रासस)

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशमा खाद्यान्न पु¥याउने गरी सल्यानको विकास गरिने घोषणा गर्नुभएको छ । कर्णाली प्रदेशमै उत्पादनमा पहिलो जिल्ला सल्यान भएकाले यसको विकासका लागि तत्काल कर्णाली प्रदेशले योजना लागू गर्ने बताउनुभयो ।

सल्यानको श्रीनगरमा बुधवार उद्योग वाणिज्य सङ्घ सल्यानले आयोजना गरेको प्रादेशिक कृषि, पर्यटन, उद्योग, व्यापार तथा सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारले सल्यान जिल्लाको विकासका लागि जिल्लामै वृहत् छलफल गर्न लागेको जानकारी दिनुभयो ।

सल्यानको उत्पादनले कर्णाली प्रदेशमा पुग्ने सम्भावना भएकाले यसको विकासका लागि प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । “सल्यानको शारदा नदी कोरिडोरमा उत्पादनशील जमिन छ, अन्य ठाउँमा पनि उत्पादनका हिसाबले उर्वराभूमि रहेको छ अब उत्पादकत्व वृद्धिमा सरकारले लगानी गर्छ” मुख्यमन्त्री शाहीले भन्नुभयो ।

कर्णाली प्रदेशले शारदा नदीले कटान गर्ने क्षेत्रमा तड्बन्ध निर्माण र सिँचाइ नपुगेका क्षेत्रमा सिँचाइ पु¥याउनका लागि तत्काल प्राविधिक खटाइने जानकारी दिनुभयो । “शारदा नदी कोरिडोरमा उत्पादनलाई वृद्धि गर्नका लागि नदी नियन्त्रण गर्न तटबन्ध निर्माण गरिनेछ, अन्य उर्वर भूमिमा समेत सिँचाइ उपलब्ध गराउनका लागि फागुनभित्रै प्राविधिक खटाउँछौं,” मन्त्री शाहीले भन्नुभयो ।

“सल्यानको फलफूल र खाद्यान्न अब दक्षिणतिर मात्रै जाँदैन उत्तरतिर पु¥याउन कर्णाली प्रदेशले प्राथमिकता दिने छ, कर्णालीको भविष्य सल्यानसँग जोडिएकाले यसको विकास गर्न जरुरी भएकाले हामीले बजेट विनियोजन गर्छौं” मन्त्री शाहीले भन्नुभयो ।

सल्यान जिल्ला पर्यटकीय गन्तव्यका लागि समेत सम्भावना बोकेको जिल्ला भएकाले प्रदेश सरकारले प्राथमिकतामा पारेको मन्त्री शाहीले जानकारी दिनुभयो । “सल्यानमा सानो राराको रुपमा कुपिण्डे ताल रहेको छ धार्मिक पर्यटनका लागि पनि जिल्लामा धेरै सम्भावना रहेका छन् यसको विकासका लागि स्थानीय तहसँग छलफल गरेर अगाडि बढ्न चहान्छौ,” मुख्यमन्त्री शाहीले भन्नुभयो ।

कर्णाली प्रदेश सरकारले सल्यानको श्रीनगर बजारलाई आधुनिक शहरीकरणका लागि योजना तयार पारेको मन्त्री शाहीले जानकारी दिनुभयो । “जिल्लाकै सुन्दर शहर श्रीनगरलाई व्यवस्थित शहरीकरणका लागि योजना तयार गरी यसलाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्न सकिने उहाँले धारणा राख्नुभयो ।

कार्यक्रममा कर्णाली प्रदेश सरकारका आर्थिक मामला तथा योजना मान्त्री प्रकाश ज्वालाले कर्णालीलाई अर्गानिक उत्पदनको जिल्लाको रुपमा विकास गर्न प्रदेश सरकारले प्राथमिकता दिएको बताउनुभयो । “प्रदेश सरकारले सबै जिल्लाका एक/एक तहलाई जैविक उत्पादनका लागि ‘पकेट क्षेत्र’ घोषणा गरेको छ अब पूरै प्रदेशलाई जैविक उत्पादन क्षेत्रको रुपमा प्रमाणीकरण गर्नका लागि तयारी गरेका छौँ,” मन्त्री ज्वालाले भन्नुभयो ।

अहिले विभिन्न कानूनी व्यवधानका कारण भनेजस्तो काम गर्न नसके पनि प्रदेश सरकार कानून निर्माणको चरणमा रहेकाले सधै यस्तो समस्या नरहने जानकारी दिनुभयो । “कर्णालीमा लागानी गर्नेहरुले असुरक्षा महसुस गर्नुपर्दैन, हरेक उद्योग र लगानी क्षेत्रको सुरक्षा गर्न हामी प्रदेश प्रहरीको स्थापना गर्दैछौँ” मन्त्री ज्वालाले भन्नुभयो ।

सल्यान जिल्ला कर्णालीको मुटु भएकाले यसको समग्र विकासका लागि प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउँदै मन्त्री ज्वालाले आगामी दुई वर्षभित्रमा सल्यान जिल्लामा सबै आधारभूत सुविधा सबै नागरिकमा उपलब्ध हुने दाबी गर्नुभयो ।

कार्यक्रमा सङ्घीय संसद् टेकबहादुर बस्नेतले सल्यानको विकासका लागि केन्द्र सरकारसँग समेत छलफल भइरहेको जानकारी दिनुभयो । “सल्यानका सबै क्षेत्रलाई सडक सञ्जालमा जोडनेदेखि खानेपानी तथा बिजुली हरेक बस्तीमा पु¥याउन तीनै तहका सरकारसँग छलफल गरेर अगाडि बढ्न खोजका छौं,” उहाँले भन्नुभयो ।