• गृहपृष्ठ
  • प्रहरी संगठनको श्रीवृद्धिका लागि सबैको रचनात्मक सहयोग र सक्रियता आवश्यक: प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवाली

प्रहरी संगठनको श्रीवृद्धिका लागि सबैको रचनात्मक सहयोग र सक्रियता आवश्यक: प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवाली

Feb 13th, 2020

काठमाडौं,फागुन १

प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले प्रहरी संगठनले अख्तियार गरेको नीति तथा कार्ययोजना सबै एकजुट भई कार्यान्वयन गर्दै संगठनको श्रीवृद्धि गर्नका लागि व्यावसायिक निष्ठाकासाथ रचनात्मक सहयोग र सक्रियता आवश्यक रहेको बताउनुभएको छ ।

प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित बिशेष समारोहबीच प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक ज्ञवालीले उक्त कुरा बताउनुभएको हो ।

संगठनले स्थापित गरेको मूल्य मान्यतालाई आत्मसाथ गरी सबैले आ-आफ्नो दायित्व पुरा गर्न केन्द्रित हुनुपर्ने बताउँदै प्रहरी महानिरीक्षक ज्ञवालीले पीडितमैत्री, नागरिक केन्द्रीत र जनउत्तरदायि प्रहरी सेवा प्रवाह गर्न उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो । संगठनले लिएको लक्ष्यप्रति कुनै पनि कर्मचारी विमुख नभई संगठनको लक्ष्य प्राप्तिका लागि संवेदनशील एवम् कटिवद्ध भएर अगाडि बढ्नुपर्ने उहाँले चर्चा गर्नुभयो । जन्मदेखि मृत्युसम्म हरेक नागरिकलाई आवश्यक पर्ने सेवा प्रदान गर्ने नेपाल प्रहरीको विकल्प नेपाल प्रहरी नै भएको चर्चा गर्दै प्रहरी संगठनको थप सुदृढिकरण एवम् आन्तरिक शुद्धिकरण गर्दै जनअपेक्षित सेवा प्रवाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रहरी महानिरीक्षक ज्ञवालीले शान्ति सुरक्षा कायम गर्ने तथा अपराधको अनुसन्धानमा एक व्यक्तिको भन्दा सामुहिक प्रयासमा सफलता हासिल हुने विचार व्यक्त गर्दै प्रविधिबाट सिर्जित अपराध नियन्त्रणका लागि प्रहरीले उपलब्ध नविनतम प्रविधिको अधिकतम प्रयोग गर्नुपर्ने बताउनुभयो ।
साथै विध्वंसात्मक गतिविधि नियन्त्रणमा थप सजग एवम् सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

एक प्रहरी कर्मचारीले सिङगो प्रहरी संगठनको प्रतिनिधित्व गरेको चर्चा गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले गौरवमय इतिहास बोकेको प्रहरी संगठनको छविलाई थप उचाईमा लैजान सबै प्रहरी कर्मचारीहरुले आपसी भातृत्वभावमा थप सुधार गर्दै नयाँ उत्साह, उच्च मनोबल, जिम्मेवारीप्रतिको पूर्ण जवाफदेहिता सहित दत्तचित्त भएर सुम्पिएको जिम्मेवारी पूरा गर्न उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिनुभयो ।

व्यक्तिगत स्वार्थ भन्दा पनि संगठनको हिततर्फ केन्द्रित भई आफूले प्राप्त गरेको अनुभव, कार्यदक्षताको आ-आफ्नो कार्यक्षेत्रमा उचित प्रयोग गर्न उहाँले आग्रह गर्नुभयो । प्रहरी कर्मचारीहरुको वृत्तिविकासमा संगठन सदैव क्रियाशील रहेको बताउँदै उहाँले सबै प्रहरी कर्मचारीहरुले नयाँ शिराबाट थप उपलब्धी हासिल हुनेगरी कार्यक्षेत्रमा प्रस्तुत हुनुपर्नेमा जोड दिनुभयो । भुलबस हुने त्रुटी हटाउँदै कमजोरी सुधार्ने सबैको दायित्व रहेकोले थप सजगता अपनाउनुपर्ने विचार व्यक्त गर्दै उहाँले नियतबस गरिएका गल्ती क्षम्य नहुने बताउनुभयो ।

प्रहरीको गतिविधि एवम् हरेक क्रियाकलाप, कार्यसम्पादनको स्तरप्रति नागरिक सचेत रहने हुँदा प्रहरी कर्मचारीहरुले आफ्नो कार्यशैलीको स्तरोन्नति गरी समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सक्नुपर्ने बताउनुभयो । नेपाल प्रहरीले अंगिकार गरेको समुदाय(प्रहरी साझेदारी कार्यक्रममार्फत नागरिक र प्रहरीको सम्बन्धमा सुधार गर्नुकोसाथै प्रहरीको व्यवहारमा सुधार एवं अपराध अनुसन्धान तथा नियन्त्रणमा समेत महत्वपूर्ण भूमिका रहने हुँदा आवश्यक सूचना संकलन तथा प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुनुपर्ने उहाँले बताउनुभयो ।

देशमा शान्ति सुरक्षा अमन चयन कायम राख्ने कार्यमा अग्रजहरुले मार्गदर्शनका लागि निर्वाह गरेको भूमिकाको सराहना गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले बहालवाला र पूर्व प्रहरी कर्मचारीहरुको हित हुनेगरी प्रहरी कल्याण कोषबाट नयाँ कार्यक्रमहरु संचालन गरिने बताउनुभयो । संघीयतामा नेपाल प्रहरीको भूमिकाबारे चर्चा गर्दै उहाँले तत्काल देखिने असर र गहनता बुझेर पूर्ण जिम्मेवार भई व्यवस्थापन गर्दै सफलता हासिल गर्न लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंह, प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी प्रधान कार्यालय तथा उपत्यकास्थित वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।