• गृहपृष्ठ
  • प्रतिनिधिसभाको आजको बैठकमा कारागार विधेयक पेश

प्रतिनिधिसभाको आजको बैठकमा कारागार विधेयक पेश

Feb 12th, 2020

काठमाडौँ, २९ माघ (रासस)

प्रतिनिधिसभाको आजको बैठकमा ‘कारागार विधेयक, २०७६’ पेश भएको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापाले उक्त विधेयक पेश गर्नुभएको हो । त्यसअघि बैठकले सो विधेयक सभामा प्रस्तुत गर्न गृहमन्त्रीलाई अनुमति दिएको थियो ।

कृषि समितिको प्रतिवेदन पेश

बैठकमा ‘बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयकसम्बन्धी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन, २०७६’ पेश भएको छ । समितिका सभापति पूर्णकुमारी सुवेदीले सभामा उक्त प्रतिवेदन पेश गर्नुभएको हो ।

रेडियोधर्मी पदार्थको नियमनसम्बन्धी विधेयक पारित

प्रतिनिधिसभाको आजको बैठकले ‘रेडियोधर्मी पदार्थको नियमनसम्बन्धी विधेयक, २०७६’ पारित गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गर्नुभएको उक्त विधेयकलाई सभाको बहुमतले पारित गरेको हो । त्यसअघि सांसद खगराज अधिकारी, शेरबहादुर तामाङ र प्रेम सुवालले विधेयकमाथिको छलफलमा भाग लिनुभएको थियो ।

छलफलमा सहभागी सांसदको जिज्ञासाको जवाफ दिँदै मन्त्री पोखरेलले रेडियोधर्मी पदार्थलाई नियमन र व्यवस्थित गर्न अत्यन्त जरुरी भएकाले उक्त ऐन ल्याइएको जानकारी दिनुभयो । प्रतिनिधिसभाको अर्को बैठक आगामी फागुन २ गते अपराह्न २ः०० बजे बस्नेछ ।