• गृहपृष्ठ
  • पोखरामा नेपाल–अमेरिका संयुक्त लगानीबारे छलफल

पोखरामा नेपाल–अमेरिका संयुक्त लगानीबारे छलफल

Feb 12th, 2020

चिप्लेढुङ्गा, २९ माघ (रासस)

गण्डकी प्रदेशमा लगानीका सम्भावना खोज्न अमेरिकाको एक टोली पोखरा आएको छ । अमेरिकाको वासिङ्टनमा स्थापना भएको नेपाल विकास सङ्घ ९नेपाल डेभलपमेन्ट कन्सोर्टियम० को टोलीले नेपाल र अमेरिकाबीच लगानी र व्यापारका सम्भावनाबारे मङ्गलबार पोखराका उद्योगी–व्यवसायीसँग अन्तरक्रिया गरेको छ ।

पोखरा उद्योग वाणिज्य सङ्घ तथा नेपाल विकास सङ्घको संयुक्त आयोजनामा भएको अन्तरक्रियामा नेपाल विकास सङ्घका संस्थापक सदस्य देवदत्त दासले संयुक्त लगानीका लागि तयार रहन र सम्भावनाका क्षेत्र पहिचान गर्न पोखराका उद्योगी–व्यवसायीसँग आग्रह गर्नुभयो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको केही समयअघि भएको वासिङ्टन भ्रमण र उहाँको निम्तोमा त्यहाँका गभर्नर नेपाल आउन लागेको जानकारी दिँदै उहाँले सो अवसरमा विभिन्न क्षेत्रमा लगानीको सम्झौता हुनसक्ने बताउनुभएको हो ।

“गण्डकी प्रदेशका मुख्यमन्त्रीसँग राम्रो योजना छ, यहाँ क्यान्सर अस्पताल, पर्यटन, कृषिलगायतका क्षेत्रमा लगानी गर्न सकिने सम्भावना छ”, उहाँले भन्नुभयो, “सियाटलमा साना हिमाल छन्, त्यहाँ प्रशस्त स्किरिसोर्ट खोलिएका छन्, यहाँको मनाङ र मुस्ताङमा पनि त्यो सम्भावना छ ।”

कार्यक्रममा सो संस्थाका अर्का संस्थापक सदस्य मूर्ति कालकोराले व्यवसाय सफल हुन उत्पादनको अनुपात, योजना, योग्य कामदारको छनोट, व्यवस्थापन र आफ्नो उत्पादनसँग त्यहाँको संस्कृतिबारे जानकार हुनुपर्ने बताउनुभयो ।

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष दामु अधिकारीले वासिङ्टनका गभर्नरको भ्रमणको बेला आउने लगानीकर्तासँग सहकार्य गर्न आफूहरु तयार रहेको बताउनुभयो । उहाँले द्विपक्षीय लगानीले नेपाली उद्योगी–व्यवसायीले सञ्चालन गर्ने उद्योग–व्यवसायको दायरा बढ्ने विश्वास व्यक्त गर्नुभयो । सङ्घका उद्योग उपाध्यक्ष विन्दु कोइराला सुवेदीले नेपालमा धेरै सम्भावना भएको बताउँदै पूँजी र प्रविधि भित्र्याउन सके यहाँबाट राम्रो मुनाफा कमाउन सक्ने धारणा राख्नुभयो । सङ्घका महासचिव अर्जुन पोखरेलले लगानीका क्षेत्र पहिचान गरी सहकार्यको हात बढाउन व्यवसायीसँग आग्रह गर्नुभयो । कार्यक्रममा पोखराका कृषि, उद्योग, पर्यटन तथा हस्तकलालगायतका व्यवसायसँग सम्बन्धित व्यवसायीको उपस्थिति थियो ।