• गृहपृष्ठ
  • सगरमाथा संवादमा क्यानडाको सक्रिय सहभागिता

सगरमाथा संवादमा क्यानडाको सक्रिय सहभागिता

Feb 10th, 2020

काठमाडौँ, २७ माघ (रासस)

क्यानडाको सिनेटका सभामुख जर्ज जे फ्युरीले नेपालले गर्न लागेको ‘सगरमाथा संवाद’मा क्यानडाले सक्रिय सहभागिता जनाउने बताउनुभएको छ ।

सङ्घीय संसद्का सदस्यसँग आज भएको अन्तक्र्रियामा भाग लिँदै उहाँले नेपाल र क्यानडाले जलवायु परिवर्तनको उस्तै असर झेल्दै आएको उल्लेख गर्दै उक्त संवाद फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । आगामी चैतमा हुनलागेको सगरमाथा संवाद जलवायु परिवर्तनको असरमा केन्द्रित हुनेछ ।

क्यानेडेली सिनेट सभामुख फ्युरीले नेपाल भ्रमण वर्ष २०२० को सफलताको शुभकामना दिँदै आफ्ना नागरिकलाई नेपाल भ्रमणका लागि सकारात्मक सन्देश प्रवाह गर्ने वचन दिनुभयो । नेपाल र क्यानडाबीच लामो समयदेखि दौत्य सम्बन्ध स्थापना भएको स्मरण गर्दै उहाँले अबका दिनमा नेपालको पर्यटन, व्यापार र लगानीका क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले क्यानडाको विकास निर्माण र सफलताका विषयमा आफ्ना केही अनुभवलाई नेपालसँग साट्न पाएकामा खुशी व्यक्त गर्दै यस्तै किसिमको नेपाली प्रतिनिधिमण्डललाई पनि क्यानडामा स्वागत गर्न आफूहरु आतुर रहेको बताउनुभयो । फ्युरीले नेपालको छिमेकी देश चीनमा कोरोना भाइरसको भयावह स्थिति रहे पनि आफूहरुको भ्रमणले नेपाल सुरक्षित छ भन्ने सन्देश विश्वमाझ पुग्ने आशा व्यक्त गर्दै यसले भ्रमण वर्षलाई सहयोग पुग्ने उल्लेख गर्नुभयो ।

अन्तक्र्रियामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद खगराज अधिकारीले सभामुख फ्युरीलाई जवाफ दिँदै उपयुक्त समयमा नेपाली प्रतिनिधिमण्डलको क्यानडा भ्रमण हुने विश्वास दिलाउनुभयो । उहाँले सिनेट सभामुख फ्युरीको नेतृत्वमा आएको उक्त प्रतिनिधिमण्डलसँग अन्तक्र्रिया गर्न पाएकामा खुशी व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेसका प्रतिनिधिसभा सदस्य पार्वता डिसी चौधरीले महिला बालबालिका लगायत क्षेत्रमा क्यानडाले गरेको सहयोगको उच्च प्रशंसा गर्दै पर्यटन, व्यापार र लगानीका क्षेत्रमा थप सहयोग गर्ने सभामुख फ्युरीको प्रतिबद्धताको स्वागत गर्नुभयो ।

नेकपाकी प्रतिनिधिसभा सदस्य सरिता न्यौपानेले नेपाल भ्रमणमा आउनुभएका क्यानडेली प्रतिनिधिमण्डललाई स्वागत गर्दै नेपाल भ्रमण वर्ष सफल पार्न क्यानडाका तर्फबाट सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै नेकपाको राष्ट्रियसभा सांसद कमलाकुमारी ओलीले नेपाल भ्रमण वर्ष सफल पार्न क्यानडा सरकारले सहयोग गर्ने अपेक्षा राख्दै नेपालको सङ्घीय संसद्को नीति र कानून निर्माणमा महिलाको सक्रिय सहभागिता रहेको जानकारी गराउनुभयो । क्यानडाली प्रतिनिधिमण्डलको सम्मानमा आज साँझ काठमाडौँमा रात्रिभोजको आयोजना गरिएको सो क्रममा जनाइएको छ ।