बार्सिलोनाको संघर्षपूर्ण जित

Feb 10th, 2020

काठमाडौं,माघ २७

बार्सिलोनाले स्पेनिस ला लिगामा संघर्षपूर्ण जीत निकालेको छ । आईतबारराति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ३–२ गोल अन्तरले पराजित गर्दै संघर्षपूर्ण जीत निकालेको हो ।
बार्सिलोनालाई जित दिलाउन फ्रेन्की डी जोङ , सर्जियो बुस्क्वेट, र क्लेमेन्ट लेङ्मेन्टले एक एक गोल गरे । तीन गोलमा मेसीले अवसर सिर्जना गरेका थिए ।

खेलमा पहिलो अग्रता रियल बेटिसले लिएको थियो। खेलको छैटौं मिनेटमा सर्जिओ कानालेसले पेनाल्टीबाट गरेको गोलमा रियल बेटिसले अग्रता लिएको थियो। तर, तीन मिनेटपछि नै फ्रेन्की डी जोङले खेल बराबरी गरे ।

खेलको २६ औं मिनेटमा नबिल फकिरले गोल गर्दै रियल बेटिसलाई पुनः अग्रता दिलाए। पहिलो हाफको इन्जुरी समयमा सर्जियो बुस्क्वेटले गोल गर्दै खेल २–२ को बराबरीमा पुर्‍याए । ७२ औं मिनेटमा क्लेमेन्ट लेङ्मेन्टले लियोनेल मेस्सीको फ्रिकिकमा हेडमार्फत गोल गर्दै बार्सिलोनालाई ३–२ को अग्रता दिलाए। त्यसपछि कुनै गोल हुन सकेन र बार्सिलोनाले जित निकालेको हो ।

जितपछि बार्सिलोना लिगको दोश्रो स्थानमा रहेको छ। बार्सिलोनाले २३ खेलबाट ४९ अंक जोडेको छ । पराजित भएको रियल बेटिस २८ अंकसहित १३ औं स्थानमा छ । शीर्ष स्थानमा रहेको रियल मड्रिडको समान खेलबाट ५२ अंक रहेको छ।