अनुभवका अनुभूतिहरू र मायाको लोकार्पण

Feb 9th, 2020

काठमाडौं, २६ माघ

अमेरिकामा बस्दै आउनुभएका साहित्यकार प्रा.डा. दुर्गा दाहालको कविता सङ्ग्रह अनुभवका अनुभूतिहरू र गीति श्रव्य चक्का मायाको काठमाडौँमा माघ २६ गते आयोजित एक कार्यक्रममा लोकार्पण गरियो।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय समिति र समाजकै नेपाल च्याप्टरको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ कवि तुलसी दिवस हुनुहुन्थ्यो । प्रमुख अतिथि लगायत मञ्चमा आसीन विभिन्न व्यक्तिहरूले पुस्तकको लोकार्पण गरेका थिए ।

कविता सङ्ग्रहमा ६० वटा कविता छन् । माया गीति चक्काका सङ्गीतकार सरोज प्याकुरेल हुन् भने गीतहरू आनन्द कार्कीले गाउनु भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कवि तुलसी दिवसले कवि दाहालको नेपाली भाषा, साहित्य र संस्कृति प्रतिको पे्रमलाई आफूले अमेरिका भ्रमणका क्रममा नजिकबाट नियाल्न पाएको बताए । उनले सङ्ग्रहका कविताहरू आकारले छोटा भए पनि त्यसमा लेखकका अनुभूतिहरू राम्ररी प्रकट भएको धारणा राखे ।

सभापतिको आसनबाट अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का अध्यक्ष राधेश्याम लेकालीले कवि दाहाल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अभिभावक भएको बताउँदै नेपाली भाषा साहित्य प्रतिको उनको लगाव अत्यन्त महत्वपूर्ण भएको चर्चा गरे । उनले अनेसासका गतिविधि र भावी कार्यक्रम एवम् कार्यदिशाबारे पनि स्पष्ट पारेका थिए ।

कार्यक्रममा समालोचक डा. लक्ष्मणप्रसाद गौतम र कवयित्री गीता कार्कीले लोकार्पित कवितसङ्ग्रहको समीक्षा प्रस्तुत गरेका थिए । समालोचक डा. गौतमले कवि दाहालका कविता पूर्वीय दर्शनबाट प्रभावित भएको विचार राखे भने कवयित्री कार्कीले कविताका माध्यमबाट कवि दाहालले विभिन्न विषयमा आप्mना धारणाहरू राखेको बताइन् ।

कार्यक्रममा साहित्यकार युवराज नयाँघरेले कवि दाहालको परिचय दिएका थिए भने राजनीतिक विश्लेषक शोभाकर पराजुली, अनेसास नेपालका अध्यक्ष सन्ध्या पहाडी, वरिष्ठ उपाध्यक्ष बाबा बस्नेत, महासचिव ऋषवदेव घिमिरे, चित्रकार रमेश पौडेललगायतले पनि आआफ्ना मन्तव्य राखेका थिए भने अनेसास नेपालका उपाध्यक्ष डा। रेणु थापा सोलु, रमेश दाहाललगायतले विमोचित कृतिबाट कविता वाचन गरेका थिए।