• गृहपृष्ठ
  • पाम आयलको निर्यात खुल्यो, लाइसेन्स भएकाले मात्र आयात गर्न पाउने

पाम आयलको निर्यात खुल्यो, लाइसेन्स भएकाले मात्र आयात गर्न पाउने

Feb 9th, 2020

आधारभूमी संवाददाता

काठमाडौं, २६ माघ

झण्डै एक महिनासम्म रोकिएको पाम आयलको निर्यात खुलेको छ । भारत सरकारले नेपालबाट प्रशोधित पाम तेल र पामोलिनको निकासी खुला गरेको हो।

भारत सरकारको वैदेशिक व्यापार महानिर्देशनालय ले भारतका पाम तेल खरिदकर्ता व्यवसायीलाई नेपालबाट पाम तेल भारत–आयातको अनुमति पत्र दिन थालेको छ ।

सो निर्देशनालयले शुक्रबारदेखि डीजीएफटीले त्यहाँका व्यवसायीलाई पाम तेल र पामोलिनको आयातका लागि लाइसेन्स जारी गरेको हो।

नेपालमा प्रशोधीत भएर भारतमा पाम आयलको निर्यात बढन थालेपछि भारतको डिजिएफटी पाम आयल निर्यात गर्न लाइसेन्स हुनुपर्ने भारतीय विदेश व्यापार महानिर्देशनालय ९डिजिएफटी० ले एक सूचना जारी गर्दै रिफाइन्ड ब्लिच्ड डियोडोराइज्ड पाम आयल आयातमा प्रतिबन्ध लगाएको थियो।

भारतको वैदेशिक व्यापार विभागले गत पुस २३ गते एक परिपत्र जारी गर्दै प्रशोधित पाम आयलको आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । त्यसको भोलिपल्ट अर्थात् पुस २४ गतेदेखि नै भारतीय भन्सारले नेपालबाट हुने पाम आयलको निकासी रोकिदिएको थियो ।

नेपाली तेल व्यवसायीहरुले इन्डोनेसिया, मलेसिया र थाईल्याण्डबाट पाम आयल नेपाल ल्याएर भारत निकासी थालेपछि यो तेलको निर्यात बढ्न थालेको हो ।

आयत बढ्न थालेपछि भारत सरकारले पाम आयल आयातको भन्सारदर तथा परिमाणलाई पटकपटक परिवर्तन गरिरहेको छ । अघिल्लो वर्षको मार्चमा भारतले कच्चा तेलमा प्रतिटन ५ डलर र रिफाइनरीमा प्रतिटन ९ डलर भन्सार दर कायम गरिएको थियो ।

यसैगरी अघिल्लो वर्षको पुष १६ गते भारतले एसिआन मुलुकबाट पाम तेल आयातको मात्रा घटाउने निर्णय गरेको थियो । त्यसवेला भारतले दक्षिणपूर्वी एसियाली मुलुक इन्डोनेसिया, मलेसियाबाट भइरहेको कुल कच्चा आयतको ४४ प्रतिशतको हिस्सालाई ४० र रिफाइनरीको ५४ प्रतिशतको हिस्सा ४५ प्रतिशतमा झार्ने निर्णय गरेको थियो ।

के छ व्यवपस्था ?

भारतीय आयातकर्ताले पाम तेल उत्पादन हुने इन्डोनेसिया वा मलेसिया जस्ता देशबाटबाट आयात गर्दा ४० प्रतिशत भन्सार महसुल लाग्छ । तर तिनै व्यवसायीले इन्डोनेसियाबाट ल्याउँदा नेपालमा १० प्रतिशत भन्सार महसुल लाग्ने गरेको छ ।

नेपाल९भारत वाणिज्य सन्धिको प्रावधानअनुसार अल्पविकसित मुलुकका रुपमा नेपालले भारतीय बजारमा निकासी गर्दा भन्सार लाग्दैन ।

दक्षिण एशियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा) को सम्झौता अनुसार भारतले नेपालबाट भारत जाने वस्तुमा पाम आयललाई पनि भन्साररहित वस्तुको पहुँच दिएको छ । यसको फाइदा उठाउँदै व्यापारीले मलेसिया र इन्डोनेसियाबाट पाम आयल आयात गरेर भारततर्फ निकासी गरेका हुन् ।

तर कुनै पनि वस्तु निकासी गर्दा नेपालमा ३० प्रतिशत गुणवत्ता अभिवृद्धि (भ्यालु एडिसन) भएको हुनुपर्छ ।

३० प्रतिशत बिन्दुको भन्सार महसुलको फरकको लाभकै कारण नेपालमा इन्डोनेसियाबाट पाम आयल आयात गरेर सामान्य प्रशोधनपछि भारत पठाउने क्रमले तीव्रता पाएको हो ।

नेपालबाट साफ्टा सम्झौताअन्तर्गत पाम तेल भारत निकासी हुन्छ। साफ्टाअन्तर्गत निकासी गर्दा भन्सार महसुल लाग्दैन भने भारतीय भन्सारमा जिएसटी १२ प्रतिशतमात्र तिर्नु पर्छ।

नेपालबाट साफ्टा सम्झौताअन्तर्गत शून्य प्रतिशत भन्सार महसुलमा पाम तेल त्यसतर्फ निकासी हुनसक्ने देखेपछि सबैभन्दा पहिले केएल दुगड समूहले गत आर्थिक वर्षको मध्यदेखि स्वस्तिक आयल इन्डस्ट्रिजबाट पाम तेलको निकासी सुरु गरेको थियो।

पाम तेलको कच्चा पदार्थ मलेसिया वा इन्डोनेसियाबाट आयात हुन्छ। खाने तेलमा पाम तेल सबैभन्दा सस्तो मानिन्छ। विराटनगरको खुद्रा बजारमा पाम तेलको मूल्य प्रतिलिटर १ सय १० देखि १ सय २० रुपैयाँ छ। पाम तेल विशेष गरी होटलमा प्रयोग गरिन्छ ।

भारतले आयातमा रोक लगाएपछि निर्यात हुन नसकेर ६ सय टन पाम तेल विराटनगर भन्सारको गोदाममा नै थन्किएको थियो ।